© 2026
बुटवल । महिलाहरूका लागि नेतृत्व विकास तालिम सम्पन्न भएको छ । तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउका महिलाहरूको आर्थिक सशक्तीकरण,मानवीय क्षमता विकास र नेतृत्व विकासका लागि पालिकाले गर्दै आएको बताए ।
उनले तिनाउका महिलाहरूलाई अन्य ठाउँका महिलाका तुलनामा सशक्त बनाउन आफूहरू कटिबद्ध रहेको बताउँदै नेतृत्व विकासविना व्यक्ति,समाज र देश परिवर्तन असम्भव भएको उल्लेख गरे ।
कार्यक्रमका वडा नं.६ का वडाध्यक्ष टोमबहादुर पुनले परिवर्तन अरूबाट होइन,आफैबाट थाल्नुपर्ने बताउँदै नेतृत्व विकास आफैले गर्दै जाँदा उत्तम हुने बताए । त्यसका लागि नेतृत्वसम्बन्धी आधारभूत सैद्धान्तिक र प्रयोगात्मक ज्ञानको आवश्यकता हुने सुनाए ।
तालिममा नेतृत्वको अर्थ, यसका आधारभूत तत्त्वहरू, प्रभावीय पक्षहरू, सकारात्मक नेतृत्वका विशेषता, गुण र महिलाहरूका साझा समस्या अनि चुनौती सम्बन्धमा सैद्धान्तिक तथा प्रयोगात्मक तरिकाले सहजीकरण सामाजिक अभियन्ता दलबहादुर गुरुङले गरेका थिए ।
तालिम समापन कार्यक्रममा तिनाउ गाउँ कार्यपालिका सदस्य गङ्गा रानाले तालिम प्रभावकारी भएको र सहभागीहरूले प्रस्तुत गरेका समस्या एवम् चुनौतीहरूलाई सक्दो समाधान गर्नका लागि वडा र पालिकामा पहल गर्ने बताइन् ।
शारदा श्रेष्ठ, कोपिला सुवेदी, चुना बुचा, मीना लम्तरी, नारायणी दर्जी, ईन्दिरा विक, विद्यादेवी भण्डारीले नेतृत्व विकास तालिमबाट आफूहरूले सक्दो धेरै ज्ञान हासिल गर्न सकेको बताउँदै आगामी दिनमा कृषिसम्बन्धी तालिम, सिलाईकटाईको एड्मान्स तालिम, बालविवाह र चेलीबेटी बेचबिखन विरुद्धको अभियान सञ्चालनका लागि वडा र पालिकाले आर्थिक एवम् नैतिक साथ र समर्थन गर्नुपर्नेमा जोड दिए ।