© 2026
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहसम्म पुगेर नागरिकता, व्यक्तिगत घटना दर्ता तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी अभिमुखीकरण अभियान सञ्चालन गरेको छ ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई कानुनी तथा प्रशासनिक विषयमा स्पष्ट पारेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिएका छन् । उक्त अभियान अन्तर्गत चन्द्रकोट गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
चन्द्रकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय गुल्मीको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गैहे्रले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रवाह गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताए ।
उनले राष्ट्रिय परिचयपत्र, नागरिकता तथा व्यक्तिगत घटना दर्तालाई व्यवस्थित बनाउन प्रशासनले जिल्लाका सबै स्थानीय तहमा अभियान नै सञ्चालन गरेर काम गरिरहेको जानकारी दिए ।
चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले यस्ता कार्यक्रमले सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाउन सहयोग पुग्ने बताए । कतिपय विषयमा वडा तहबाट गरिने सिफारिसमा देखिने ससाना समस्या समाधानका लागि पनि अभिमुखीकरण कार्यक्रमले ठुलो सघाउ पुराएको उनको भनाइ थियो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म जिल्लाको रेसुङ्गा नगरपालिका, काली गण्डकी गाउँपालिका, मदाने गाउँपालिका, सत्यवती गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ । बाँकी रहेका अन्य स्थानीय तहमा पनि क्रमशः अभियानलाई निरन्तरता दिंदै जाने प्रशासनले जनाएको छ ।