Butwal Today

पाणिनी गाउँपालिका पूर्ण खोपयुक्त

१० जेष्ठ २०८३, आइतबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।  बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा ल्याउँदै स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउने उद्देश्यसहित गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले बताए ।

पालिकाले सबै बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउने लक्ष्यसहित विभिन्न चरणमा खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अभिभावकहरूको सक्रिय सहकार्यका कारण पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको गाउँपालिकाका स्वास्थ्य अधिकृत रामप्रसाद घिमिरेले बताए ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक जिवनारायण कोईराला र सदस्य सचिव कृष्ण प्रसाद पोख्रेलले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेलाई हस्तान्तरण गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख कोइरालाले पूर्ण खोप अभियानले बालबालिकाको स्वास्थ्य संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याएको बताए । उनले नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा पनि दिगोपनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले स्वस्थ नागरिक निर्माणको आधार नै स्वस्थ बालबालिका रहेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाले पालिकाको स्वास्थ्य क्षेत्रमा हासिल गरेको महत्त्वपूर्ण उपलब्धि रहेको बताए ।

उपाध्यक्ष नर्मदा पौडेलले खोप अभियान सफल हुनुमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र अभिभावकहरूको ठूलो योगदान रहेको बताउदै सबैलाई धन्यवाद दिइन् ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्ण प्रसाद पोख्रेलले “पूर्ण खोप सुनिश्चितता दिगोपना कायम राख्न नियमित अनुगमन, र स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालन आवश्यक रहेको बताए । उनले स्वास्थ्यलाई प्राथमिकतामा राखेर पालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा वडा अध्यक्षहरू कृष्ण प्रसाद पौडेल, गुणाखर अधिकारी, स्वास्थ्य संस्था प्रमुख गणेशराज पौडेल लगायतले भनाइ राख्दै खोप अभियानलाई व्यवहारिक कार्यान्वयनलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप सबैभन्दा प्रभावकारी माध्यम भएकाले आगामी दिनमा पनि खोप अभियानलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?