© 2026
नवलपरासी । धान खेतीको तयारीमा रहेका गण्डक सिञ्चित क्षेत्रका किसानका लागि राहत हुने गरी नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणालीमा आगामी जेठ १५ गतेदेखि पानी प्रवाह गरिने भएको छ ।
सिँचाइ प्रणाली व्यवस्थापन कार्यालय सेमरीले वर्षे धानबाली लक्षित गर्दै नहर सञ्चालनको तयारी तीव्र पारिएको जनाएको छ । कार्यालय प्रमुख तिलकराम बुढाथोकीका अनुसार भारतीय पक्षसँग समन्वय प्रक्रिया अघि बढिसकेको छ भने नेपाली नहरतर्फ सरसफाइको काम अन्तिम चरणमा पुगेको छ । “नहर सफाइ सकिए लगत्तै पानी प्रवाह सुरु हुन्छ,” उनले भने, “धान रोपाइँको समय नजिकिएकाले किसानलाई सहज बनाउन हामी सक्रिय छौँ ।”
पछिल्लो समय डिजेल र पेट्रोलको मूल्य वृद्धि भएपछि किसानहरू भूमिगत सिँचाइभन्दा सतही नहर सिँचाइप्रति पुनः आकर्षित भएका छन् । विगतमा बोरिङ र पम्पसेट प्रयोग गरेर सिँचाइ गर्ने किसान अहिले नहरकै पानीमा निर्भर हुन थालेका छन् ।
व्यवस्थापन कार्यालयका अनुसार गण्डक ब्यारेजको सञ्चालन भारतीय पक्षको नियन्त्रणमा रहेकाले पानीको सतह मिलाउन र नहरमा पानी छाड्न भारतीय निकायसँग समन्वय गर्नुपर्ने अवस्था छ । त्यसका लागि वाल्मीकिनगरस्थित गण्डक परियोजना कार्यालयसँग निरन्तर पहल भइरहेको बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार भारततर्फ धान रोपाइँ केही ढिलो हुने भएकाले पानी छाड्ने समय पनि भारतीय पक्षले आफ्नै अनुकूल निर्धारण गर्ने गरेको छ । “नेपालका किसानलाई चाँडै पानी चाहिन्छ, त्यसैले भारतीय किसानसँग तालमेल मिलाएर रोपाइँको समय व्यवस्थापन गर्न सके दुवै पक्षलाई सहज हुने थियो,” उनले भने ।
हाल केही किसानले वैकल्पिक रूपमा बोरिङ र पम्पसेट प्रयोग गरेर सिँचाइ सुरु गरिसकेका छन् । तर गण्डक कमान्ड क्षेत्रका अधिकांश किसान अझै पनि नहरकै पानीमा निर्भर रहेको कार्यालयको भनाइ छ ।
यस वर्ष नहर व्यवस्थापनमा गरिएको संरचनागत सुधारले सिँचाइ क्षमता उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ । विगतमा नहरमा बालुवा थुप्रिने समस्याका कारण क्षमताको करिब २० प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सम्भव हुँदै आएको थियो । तर अहिले नहरको मुहान क्षेत्रमा ‘सिल्ट बेसिन’ निर्माण भएपछि बालुवा नहरमा पस्ने समस्या नियन्त्रणमा आउने विश्वास गरिएको छ ।
करीब ३० करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको उक्त संरचना गत वर्षदेखि सञ्चालनमा आएको हो । यसले नहरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मद्दत पुग्ने र साबिकको तुलनामा पाँच गुणासम्म बढी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार हुने अपेक्षा गरिएको छ ।
२०३९ सालमा निर्माण भएको नेपाल गण्डक पश्चिमी नहर प्रणाली ३२ किलोमिटर लामो छ । यसको सिँचाइ क्षमता करिब ८ हजार ७ सय हेक्टर क्षेत्रफल रहेको छ । मुख्य नहरबाट शाखा र प्रशाखा हुँदै विभिन्न गाउँका खेतमा पानी पुग्ने व्यवस्था छ ।
यद्यपि चुरे क्षेत्रबाट आउने खोलाको पानीसँगै बालुवा नहरमा पस्ने समस्या अझै पूर्ण रूपमा समाधान हुन सकेको छैन । स्थानीय किसानहरूले नहर सफाइपछि निकालिएको बालुवा नहरको डिलमै थुपारिँदा वर्षामा पुनः नहरमै बगेर आउने समस्या रहेको भन्दै दीर्घकालीन व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् ।
कृषि तथा जलस्रोतका जानकारहरूका अनुसार सतही सिँचाइ प्रणालीले जमिनभित्र पानी सञ्चित राख्न सहयोग गर्ने भएकाले भूमिगत जलस्रोत संरक्षणमा समेत महत्त्वपूर्ण भूमिका खेल्छ । निरन्तर भूमिगत पानी मात्रै प्रयोग भइरहे भविष्यमा पानीको सतह झन् तल जाने खतरा बढ्ने उनीहरूको भनाइ छ ।
स्थानीय किसानहरूका अनुसार केही वर्ष अघिसम्म २० देखि ४० फिटमै पानी भेटिने क्षेत्र अहिले १ सयदेखि डेढ सय फिटसम्म गहिरो बोरिङ गर्नुपर्ने अवस्थामा पुगेको छ । त्यसैले दीर्घकालीन रूपमा कृषि प्रणाली टिकाइराख्न सतही सिँचाइलाई प्रभावकारी बनाउनु आवश्यक रहेको उनीहरूको भनाइ छ ।