Butwal Today

अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडक पेटी

६ जेष्ठ २०८३, बुधबार
अ+
अ-

राँझा (बाँके) । नेपालगन्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर सडक पेटीलाई व्यवस्थित बनाउने अभियान सुरु गरेसँगै सडकको मुहार फेरिएको छ ।

उपमहानगरपालिकाले सडक पेटी कब्जा गरेर बनाइएका अवैध संरचनालाई धमाधम हटाएर नयाँ स्वरूपमा फुटपाथ निर्माण गरिरहेको छ । अहिले गणेशमानचोकदेखि सुर्खेत रोडको पश्चिमतर्फ बीपीचोक हुँदै धम्बोझी चोकसम्मको क्षेत्रमा सडक पेटी निर्माण कार्य सम्पन्न भइसकेको छ ।

हिजो भद्रगोल क्षेत्र अहिले सफा, व्यवस्थित र चिटिक्क देखिएको छ ।

सुर्खेत रोडको पश्चिमतर्फको नालादेखि सात फिटसम्मको अतिक्रमित फुटपाथ क्षेत्र खाली गराएर नयाँ निर्माण गरिएको हो । यो सडक पेटी निर्माण केवल हिँड्नका लागि मात्रै नभई सहरको दीर्घकालीन सौन्दर्य र सबै नागरिकको पहुँचलाई ध्यानमा राखेर डिजाइन गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

“हामीले सडक पेटीलाई सात फिट फराकिलो बनाएका छौँ”, नगर प्रमुख विष्टले भने, “यो फुटपाथ आम पैदल यात्रीका लागि मात्र होइन, अपाङ्गता भएका व्यक्तिहरू सहजै आवतजावत गर्न सक्ने गरी अपाङ्गमैत्री बनाइएको छ । यसलाई हरियालीयुक्त बनाउन वृक्षारोपणको काम पनि भइरहेको छ ।”

उपमहानगरपालिकाको यो अभियान धम्बोझीमै रोकिने छैन । धम्बोझीबाट अगाडि बढेर पुष्पलाल चोकसम्मै सडक पेटी निर्माण गर्ने, पैदल यात्रीलाई सहज बनाउने र सडक किनारमा वृक्षारोपण गरी हरियाली कायम गर्ने योजना स्थानीय सरकारको छ ।

वर्षौँदेखिको गहिरो गरी गडेको अतिक्रमण हटाउन उपमहानगरपालिकाले दृढता देखाउँदै डोजरसमेत प्रयोग गर्नुपरेको थियो, जसको परिणाम अहिले सडकमा प्रस्ट देखिन थालेको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालको भनाइ छ ।

स्थानीय सरकारको यो कदमबाट नेपालगन्जका बासिन्दा तथा नागरिक समाज निकै उत्साहित देखिएका छन् । सडक पेटी व्यवस्थित भएसँगै बजार क्षेत्रमा सवारी दुर्घटनाको जोखिम घट्ने र सहरी सौन्दर्यता बढ्ने उनीहरूको विश्वास छ ।

“सडक पेटी निर्माणले पैदल यात्रीलाई आवागमनमा निकै सहजता थपेको छ । यसले सहरको सौन्दर्यता समेत ह्वात्तै बढाएको छ”, नेपालगन्जका नागरिक अगुवा तेजविक्रम शाह भन्छन्, “यो अभियानलाई अझै विस्तार गर्न आवश्यक छ । मुख्य सडक सुर्खेत रोडको दुवैतर्फ यसै गरी व्यवस्थित सडक पेटी निर्माण हुनेछ, तब नेपालगन्जको मुहारमै ठुलो परिवर्तन आउनेछ ।”

अतिक्रमण हटाएर फुटपाथलाई नागरिकको अधिकारका रूपमा फिर्ता गराउने नेपालगन्ज उपमहानगरपालिकाको यो प्रयास उदाहरणीय रहेको उल्लेख गर्दै शाहले अब निर्माण गरेको सडक पेटीलाई सधैँका लागि अतिक्रमणमुक्त राख्नु र हरियालीको संरक्षणमा समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

कुनै समय नेपालगन्जको मुख्य सडक सुर्खेत रोडको किनारै किनार हिँड्ने पैदल यात्रीहरू सधैँ त्रसित हुन्थे । सडक पेटी (फुटपाथ) त थियो, तर त्यहाँ न मानिस हिँड्ने ठाउँ थियो, न त सहज रूपमा पाइला टेक्न नै मिल्थ्यो ।

व्यापारीका सामान, ठेला गाडा र अवैध रूपमा ठडिएका भौतिक संरचनाले फुटपाथ पूर्ण रूपमा कब्जामा थियो । पैदल यात्रीहरू बाध्य भएर गुडिरहेका गाडीकै बिचबाट जोखिमपूर्ण रूपमा मूल सडकमा हिँड्नुपर्थ्यो ।

अहिले नेपालगन्जको यो परिदृश्य बदलिएको छ । सडक किनारका अवैध संरचनामाथि स्थानीय सरकारले डोजर चलाएपछि सुर्खेतरोडले नयाँ र आधुनिक रूप लिन थालेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?