Butwal Today

मिटर ब्याजको कारोबारले लियो ज्यान

६ जेष्ठ २०८३, बुधबार
अ+
अ-

बुटवल । मिटर ब्याजको आर्थिक लेनदेनसँग जोडिएको भनिएको घटनामा पोखरा महानगरपालिका निवासी ५० वर्षीय कृष्णहरि जिसीको बुटवलमा रहस्यमय मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ ।

परिवारले यसलाई आत्महत्या नभई योजनाबद्ध हत्या हुन सक्ने आशङ्का गर्दै निष्पक्ष अनुसन्धान र संलग्नमाथि कारबाहीको माग गरेको छ ।
जिसीको जेठ १ गते राति बुटवलको चौराहास्थित होटल ओजनको पाँचौं तलाबाट खसेर मृत्यु भएको थियो ।

प्रारम्भिक रूपमा घटनालाई आत्महत्याको रूपमा हेरिए पनि परिवारले घटनापूर्वको गतिविधि, आर्थिक लेनदेन र होटलमा राखिएको अवस्थालाई आधार बनाएर गम्भीर शङ्का व्यक्त गरेको हो ।

परिवारका अनुसार कृष्णहरि जिसी केही समयदेखि ठूलो रकमको आर्थिक कारोबारमा संलग्न थिए । उनले गत वैशाखमा नवलपरासी पूर्व सुस्ताका थानेश्वर पङ्गेनीलाई दैनिक चार लाख रुपैयाँ ब्याज दिने सर्तमा कमला पुरीको एक करोड ९५ लाख रुपैयाँ सिद्धार्थ बैङ्कमार्फत पठाएका थिए ।

उक्त रकम सृष्टि ढुवानी सेवा एन्ड मल्टी प्रपोज प्रालिमार्फत कारोबार गरिएको बताइएको छ । तर रकम लगानी भएको केही समयमै पंगेनी सम्पर्कविहीन भएपछि विवाद सुरु भएको परिवारको दाबी छ ।

त्यसपछि लगानीकर्ता समूहका केही व्यक्तिले जिसीलाई बुटवल ल्याएर होटलमा राखेको र त्यसकै बिचमा उनको मृत्यु भएको भन्दै आफन्तहरूले घटनालाई शङ्कास्पद बताएका छन् ।

मृतकका आफन्तका अनुसार जिसीलाई स्वतन्त्र रूपमा हिँडडुल गर्न नदिई दबाबपूर्ण अवस्थामा राखिएको थियो । “उहाँलाई अपहरण शैलीमा होटलमा राखिएको थियो,” परिवारका एक सदस्यले भने, “पैसा फिर्ता नआएपछि सम्पूर्ण दबाब कृष्णहरिमाथि परेको देखिन्छ ।”

परिवारले घटनालाई मिटर ब्याजको जालोसँग जोडिएको बताएका छन् । उनीहरूका अनुसार रुपन्देहीको तिलोत्तमा र नवलपरासीको बर्दघाट क्षेत्रमा जग्गा कारोबार र उच्च ब्याजदरको लेनदेनको प्रलोभनमा जिसीसहितको समूह बुटवल आएको  थियो । तर मुख्य व्यक्ति सम्पर्कबाहिर भएपछि परिस्थितिले तनावपूर्ण रूप लिएको उनीहरूको भनाइ छ ।

घटनाअघि जिसीसँग भएको फोन संवादले पनि शङ्का बढाएको परिवारको दाबी छ । पोखरामा बस्ने नातामा बहिनी पर्ने एक महिलाका अनुसार उनले बिहीबार कृष्णहरिलाई फोन गर्दा खुलेर कुरा गर्न नमिल्ने बताएका थिए । “उहाँले धेरै कुरा गर्न मिल्दैन भन्नुभयो,” ती महिलाले भनिन्, “पछि बासु ढकाल नाम गरेका व्यक्तिले फोन नगर्न भनेको जानकारी पनि पायौँ ।”

घटनाबारे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तबले अनुसन्धान जारी रहेको बताएका छन् । उनका अनुसार घटनालाई आत्महत्या वा हत्या भन्ने निष्कर्षमा प्रहरी अझै पुगेको छैन । “घटनाका सबै पाटा हेरेर अनुसन्धान भइरहेको छ,” उनले भने, “होटलको सीसीटीभी, मोबाइल सम्पर्क, आर्थिक कारोबार र घटनाअघि–पछि संलग्न व्यक्तिहरूको गतिविधि विश्लेषण भइरहेको छ ।”

डिएसपी श्रीवास्तबले प्रहरीले अभियुक्तहरूमाथि आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको जानकारी दिए । प्रहरीले पोस्टमार्टम रिपोर्ट, डिजिटल प्रमाण र सम्बन्धित व्यक्तिहरूसँगको बयानका आधारमा अनुसन्धान अगाडि बढाइएको जनाएको छ । घटनासँग जोडिएका केही व्यक्तिसँग सोधपुछ भइरहेको स्रोतले जनाएको छ ।

पछिल्लो समय उच्च ब्याजदरमा हुने अनौपचारिक लेनदेन, जग्गा कारोबारको प्रलोभन र निजी आर्थिक दबाबका कारण विभिन्न आपराधिक घटना बढ्दै गएको अवस्थामा कृष्णहरि जिसीको मृत्युले फेरि मिटर ब्याजको जालोमाथि प्रश्न उठाएको छ ।

परिवार भने घटनाको सत्य बाहिर ल्याउन निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताउँदै आएको छ । “यदि यो आत्महत्या हो भने त्यसको कारण के हो, र यदि हत्या हो भने दोषी को हुन् भन्ने स्पष्ट हुनुपर्छ,” मृतकका आफन्तले बताएका छन् । मृतक जिसी गण्डकी ट्रक व्यवसायी केन्द्रीय महासङ्घका उपाध्यक्ष थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?