Butwal Today

बेमौसमी मकैले भर्दै ‘किसानको खल्ती’

५ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

लमही । जेठको पहिलो साता देउखुरी यतिबेला हराभरा बनेको छ । खेतबारीमा लहलहाउँदै बढेका हरिया मकै, बेमौसमी तरकारी र खरबूजाले देउखुरीका फाँटहरू ढाकिएका छन् ।

विशेष गरी बेमौसमी तथा बसन्ते मकै खेती फस्टाउँदै जाँदा किसानहरूको मुहारमा नयाँ उत्साह थपिएको छ । देउखुरीका विभिन्न स्थानमा सिँचाइ सुविधा पुगेपछि किसानहरूले वर्षमा तीन सिजनसम्म मकै खेती गर्न थालेका छन् ।

कतिपय किसानले परम्परागत सिजनभन्दा बाहिर बसन्ते मकै उत्पादन गर्दै राम्रो आम्दानी लिन सफल भएका छन् । अहिले लमही, राप्ती, राजपुर र गढवाका सयौँ बिगाह बारीहरू हरियो मकैले ढाकिएका छन् । कृषि ज्ञान केन्द्र दाङले वसन्ते मकै खेतीको क्षेत्रफल यकिन नगरेको जनाएको छ । लमहीको सोनपुरमा करिब १० बिघा क्षेत्रफलमा गरिएको बेमौसमी मकै खेती यस पटक निकै राम्रो देखिएपछि किसानहरू उत्साहित बनेका हुन् ।

स्थानीय किसानहरूका अनुसार अहिले मकै राम्रोसँग सप्रिएको छ भने जेठको पहिलो र दोस्रो साताबाट खान योग्य हुनेछ । सिजनभन्दा अगाडि नै उत्पादन लिन सकिने भएकाले बजारमा राम्रो मूल्य पाउने अपेक्षा किसानहरूको छ । हरियो मकै बोटबाटै बिक्री हुने भएकाले यो खेती नगदे बालीका रूपमा स्थापित हुँदै गएको छ ।

विशेष गरी राप्ती र लमहीमा प्रगन्ना नहर सिँचाइ नपुगेका क्षेत्रमा डिप बोरिङ विस्तार भएपछि सिँचाइको समस्या धेरै हदसम्म समाधान भएको किसानहरू बताउँछन् । पहिले गर्मी याममा खेत बाँझै रहने अवस्था थियो ।

पानीको अभावका कारण वैशाख–जेठमा खेती गर्न कठिन हुन्थ्यो । अहिले भने डिप बोरिङ र आधुनिक सिँचाइ प्रणालीका कारण सुक्खा मौसममै खेतबारी हराभरा बन्न थालेका छन्, सोनपुरका किसान मोहन चौधरीले बताए ।

“पहिले पानी नहुँदा बेमौसमी खेती सम्भवजस्तै लाग्दैनथ्यो,” एक स्थानीय किसानले भने, “अहिले डिप बोरिङले सहज भएको छ । मकै निकै राम्रो भएको छ, बजारमा राम्रो आम्दानी हुने आशा गरेका छौँ ।”

किसानहरू उत्पादित हरियो मकै प्रत्येक दिन यहाँका ठूला बजार लमही, भालुबाङ, गढवाका चोकमा तरकारीसँगै लाग्ने हाटबजारमा बिक्री गर्ने गरेका छन् । लमही–६ बलाम्पुरकी रामपती चौधरीका अनुसार कोसाको १० रूपैयाँसम्म बिक्री हुने गरेको छ भने कतिपय व्यापारीहरू घरमै आएर बोटबाटै मकै खरिद गर्ने गरेका छन् । स्थानीय उत्पादनको माग उच्च हुने भएकाले यस पटक राम्रो मूल्य पाएको विश्वास किसानहरूको छ ।

देउखुरीमा केही वर्षदेखि मकै सुपरजोनका रूपमा क्षेत्र बिस्तार गर्दै लगिएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजना अन्तर्गत देउखुरीका चारवटै पालिकामा सो योजना लागू भएको छ । परियोजना सुरुवातमा ९७० हेक्टर क्षेत्रफलमा मकै खेती सुरु गरिएकोमा हाल क्षेत्र विस्तार भई ४ हजार १ हेक्टर पुगेको परियोजनाले जनाएको छ ।

परियोजनाको प्राविधिक सहयोग तथा पालिकाहरूबाट उपलब्ध कृषि यान्त्रिक उपकरणको प्रयोगले किसानहरूले सहज रूपमा मकै उत्पादन गर्न थालेका छन् । कृषक अगुवा हुकुमबहादुर बस्नेतका अनुसार देउखुरीमा प्रति हेक्टर ५.५ टन मकै उत्पादन भइरहेको छ ।

यस क्षेत्रमा आकर्षण बढ्नुमा सरकारले “मकै जोन” का रूपमा छनोट गर्नु पनि अर्को महत्त्वपूर्ण कारण बनेको छ । प्रधानमन्त्री कृषि कार्यक्रम अन्तर्गत प्राविधिक सहयोग तथा सिँचाइ पूर्वाधार विस्तारले किसानहरू व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।

बसन्ते मकै खेतीको अर्को फाइदा भनेको समयमै धान रोपाइँका लागि जमिन तयार हुनु हो । किसानहरूले मकै बिक्री गरेर नगद आम्दानी लिनुका साथै त्यसपछि धान खेती पनि सहज रूपमा गर्न पाएका छन् । यसले एउटै जमिनबाट वर्षमा बहुवाली प्रणाली अपनाउने वातावरण सिर्जना गरेको छ ।

यस वर्ष वैशाख महिनामा परेको वर्षाले पनि उत्पादनमा थप टेवा पुगेको किसानहरू बताउँछन् । समयमै पानी परेकाले मकै अझ राम्रोसँग हुर्किएको छ भने तरकारी तथा खरबूजाको उत्पादनसमेत उत्साहजनक देखिएको छ ।

यद्यपि धेरै पानी परेमा खरबूजा कुहिने त्रासमा किसानहरू छन् । कुनै समय गर्मी याममा उजाड देखिने देउखुरीका फाँट अहिले हरियो मकै, तरकारी र फलफूलले भरिएका छन् ।

खेतबारीमा देखिएको हरियालीले किसानहरूको आत्मविश्वास मात्र बढाएको छैन, कृषि क्षेत्रमा नयाँ सम्भावना र आशा पनि जगाएको छ । बेमौसमी खेतीको सफलतासँगै देउखुरीमा आधुनिक, व्यावसायिक र बहुवाली कृषि प्रणाली विस्तार हुँदै गएको स्पष्ट देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?