Butwal Today

खेतीपातीको जिम्मा महिलाको काँधमा

४ जेष्ठ २०८३, सोमबार
अ+
अ-

नवलपरासी  ।  जिल्लाको ग्रामीण बस्तीहरूमा पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीको प्रभाव गहिरिँदै गएको छ । घरको मुख्य कमाउने सदस्य पुरुषहरू रोजगारीका लागि विदेशिने क्रम बढेसँगै गाउँघरमा महिलाहरूले खेतीपाती र परिवार व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी वहन गर्न बाध्य भएका छन् ।

यसले ग्रामीण जीवनशैली, कृषि उत्पादन र सामाजिक संरचनामा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ । जिल्लाका सात वटै पालिकाको धेरै गाउँहरूमा पुरुषहरू मलेसिया, कतार, साउदी अरेबिया, युएई जस्ता देशमा काम गर्न गएका छन् ।

घरमा रहेका पत्नी, आमा र दिदीबहिनीहरूले खेतबारी सम्हाल्ने, पशुपालन गर्ने र घरधन्दा चलाउने काम एक्लै सम्हालिरहेका छन् ।
घरका पुरुष वैदेशिक रोजगारीमा गएको पछि सुस्ता ३ सेखुवनवा गाउँ नजिकै उखु गोड्दै (झार फाल्दै) भेटिएकी महिलाहरूले सो दुखेसो पोखेका थिए ।

घरका पुरुष बाहिर (वैदेशिक) रोजगारीमा गए देखी घरधन्दासँगै अहिले खेतीपातीको काम पनि आफूहरूकै जिम्मामा आएको उनीहरूको भनाइ थियो । “आफ्नै खेतलाई बाँझो राख्न पनि सकिँदैन”, खेतमा गोड्दै गरेकी एक महिलाले भनिन्, “खेतमा बाली रोपियो भन्ने झारपात फाल्न त परि नै हाल्छ, त्यसै छाड्न त भएन ।”

पहिले पुरुष सदस्यहरू खेत जोत्ने, धान रोप्ने, मल हाल्ने, सिँचाइ गर्ने र उत्पादन बजारसम्म पु¥याउने काममा अग्रसर हुन्थे । तर अहिले ती सबै काम महिलाको काँधमा आएको छ । बिहान देखि बेलुकासम्म खेतबारीमा खटिनुपर्ने, साथसाथै घरको खाना पकाउने, बालबालिका हेरचाह गर्ने र बूढाबूढीको स्याहार गर्ने जिम्मेवारीले उनीहरूको दैनिकी निकै कष्टकर बनेको छ ।

स्थानीय महिलाहरूका अनुसार वैदेशिक रोजगारीले आर्थिक रूपमा केही राहत दिए पनि श्रमको बोझ भने दोब्बर भएको छ । “पहिले श्रीमानसँग मिलेर खेती गथ्र्यौं, अहिले सबै काम एक्लै गर्नुपर्छ,” एक स्थानीय महिलाले बताइन् । उनले भनिन्, “कमाइ विदेशबाट आउँछ तर यहाँको काम सबै आफैँले गर्नुपर्छ ।” कृषि विज्ञहरूका अनुसार पुरुष बिदेसिए पछि ग्रामीण कृषि प्रणालीमा श्रमिक अभाव देखिएको छ ।

लुम्बिनी प्रदेश सरकारको बालीविज्ञान प्रयोगशालाका पूर्व प्रमुख समेत रहेका देवेश कुमार मिश्रले वैदेशिक रोजगारीले नेपालको कृषि क्षेत्रलाई चुनौती दिएको बताए ।

उनका अनुसार बालीनालीको त थोरै धेरै उत्पादन महिलाहरूले गर्न सके पनि बजार पु¥याउन र बजारबाट आवश्यक मलखाद, बिउबिजन, बाली उपचार गरेर बढी भन्दा बढी उत्पादन लिने कुराको चुनौती बन्दै गएको छ । यसले समयमा खेती नहुने, उत्पादन घट्ने र खेतबारी बाँझो हुने समस्या समेत बढाएको छ ।

धेरै ठाउँमा महिलाहरू परम्परागत तरिकाले खेती गरिरहेकाले आधुनिक कृषि प्रविधिको प्रयोग कम भएको पनि देखिन्छ । सरकारी तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेहरूको ठुलो हिस्सा ग्रामीण क्षेत्रबाट रहेको छ, जसले गाउँमा महिला–प्रधान कृषि प्रणाली विकास गरिरहेको छ । यद्यपि महिलाहरूलाई आवश्यक तालिम, आधुनिक उपकरण र आर्थिक सहयोग पर्याप्त नहुँदा उनीहरू अझै पनि परम्परागत श्रममै सीमित छन् ।

सामाजिक दृष्टिले पनि यसले नयाँ चुनौती सिर्जना गरेको छ । घरमा पुरुषको अनुपस्थितिले निर्णय प्रक्रिया, सम्पत्ति व्यवस्थापन र सामाजिक सहभागितामा महिलाको भूमिका बढाएको छ । तर साथसाथै एकल जिम्मेवारीको बोझ, मानसिक तनाव र समय अभावका समस्या पनि बढेका छन् । केही स्थानीय तहहरूले महिलाहरूलाई कृषि तालिम, बीउ वितरण र साना अनुदान कार्यक्रम सुरु गरेका छन् ।

तर विशेषज्ञहरूका अनुसार यी प्रयासहरू अझै पर्याप्त छैनन् । ग्रामीण महिलालाई सशक्त बनाउन दीर्घकालीन नीति आवश्यक रहेको उनीहरूको सुझाव छ ।

वैदेशिक रोजगारीले गाउँको आर्थिक संरचना बलियो बनाएको भए पनि यसको सामाजिक मूल्य भने महिलाले भोग्नुपरेको श्रम र जिम्मेवारीबाट स्पष्ट देखिन्छ । भविष्यमा कृषि आधुनिकीकरण, महिला सशक्तीकरण र स्थानीय रोजगारी सिर्जना नभएसम्म यो अवस्था अझ जटिल बन्न सक्ने देखिन्छ । यसरी पुरुष वैदेशिक रोजगारीमा गएपछि ग्रामीण नेपालको खेतीपातीको मेरुदण्ड महिलाको काँधमा पुगेको छ, जसले उनीहरूको जीवनलाई सङ्घर्षपूर्ण भए पनि अझ जिम्मेवार र निर्णायक बनाएको छ ।

वि.सं २०७९ सालमै जिल्लाको प्रतापपुर गाउँपालिकाबाट बिदेसिएका नेपालीबाट गाउँपालिका भित्र वार्षिक ३८ करोड रेमिट्यान्स भित्रिने गरेको तथ्याङ्क प्रस्तुत गरेको थियो, जुन अहिले घट्नु भन्दा बढ्दै गएको अनुमान गरिन्छ ।

गाउँपालिकाका अनुसार गाउँघरमै रोजगार र स्वरोजगारीको अवस्था सृजना गर्नका लागि बनाउने रणनीतिको क्रममा गाउँपालिका भित्र सर्वेक्षण गर्दा ३ हजार १ सय बिदेसिएका थिए । जसमा १ हजार ४ सय जना फर्केका छन्, अहिले पनि १ हजार ७ सय जना विदेश मै रहेको तथ्याङ्क उनले जानकारी गराएका थिए ।

आत्मनिर्भर र निर्यातमुखी उत्पादन तथा पर्यटन व्यवसायबाट बाहिर आयआर्जनको माध्यम बनाउन सकिन्छ । अनि मात्र बिदेसिएका युवालाई स्वदेशमा रोजगारीको अवस्था सृजना गरी टिकाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?