Butwal Today

एनआरएनए कतारमा एकता : १० महिनाको विवाद अन्त्य

३ जेष्ठ २०८३, आइतबार
अ+
अ-

दोहा–कतार  । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारमा लामो समयदेखि देखिएको आन्तरिक विवाद र समानान्तर गतिविधिको अन्त्य गर्दै ऐतिहासिक एकता घोषणा गरिएको छ।

करिब १० महिनादेखि छुट्टाछुट्टै रूपमा सञ्चालन हुँदै आएका दुई कार्यसमिति दोहामा आयोजित विशेष कार्यक्रममार्फत औपचारिक रूपमा एकीकृत भएका हुन्।

यसअघि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्माको रोहबरमा भएको सहमतिलाई कार्यान्वयन गर्दै सभाले कृष्ण पन्थीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। समानान्तर एनसीसीका अध्यक्ष पदम गिरीलाई भने आईसीसीले उपयुक्त जिम्मेवारीसहित सम्बोधन गर्ने जनाइएको छ।

नयाँ कार्यसमितिअन्तर्गत महासचिवमा शिव भुजेल तथा कोषाध्यक्षमा प्रेम बस्नेत चयन भएका छन्। यस्तै, अर्को समूहका महासचिव विवेक पुलामी मगरलाई उपाध्यक्ष तथा कोषाध्यक्ष कबिन्द्र कँडेललाई सचिव पदमा मनोनयन गरिएको छ। अन्य  पदाधिकारीहरूलाई पनि यथावत् जिम्मेवारीसहित समेटिएको बताइएको छ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष कृष्ण पन्थीले विगतमा आईसीसीभित्र देखिएको विभाजनको असर कतारको एनसीसीमा समेत परेको स्वीकार गरे। उनले अब सबै मतभेद अन्त्य गर्दै एक ढिक्का भएर नेपाली समुदायको हितमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। अब एनआरएनए एनसीसी कतार सदाका लागि एक भएको छ। हामी सबै मिलेर प्रवासी नेपालीको हक, हित र सामाजिक सेवाका क्षेत्रमा अझ प्रभावकारी ढंगले काम गर्नेछौँ,” पन्थीले भने।

कार्यक्रममा सहभागी विभिन्न एनआरएनए अभियन्ता तथा सामाजिक अगुवाहरूले नेपाली समुदायको हित, श्रमिक अधिकार, सामाजिक सेवा र संस्थागत मजबुतीका लागि एकता अपरिहार्य रहेको धारणा राखेका थिए। उनीहरूले विगतका मतभेदलाई अन्त्य गर्दै सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

दुई कार्यसमितिबिच समन्वय गराई एकताको वातावरण बनाउन मध्यपूर्व उपसंयोजक करिम बक्स मियाले खेलेको भूमिकाको कार्यक्रममा विशेष प्रशंसा गरिएको थियो। त्यसै गरी, पछिल्लो १० महिनामा दुवै एनसीसीले गरेका गतिविधि, आर्थिक अवस्था तथा अन्य विषयको सूक्ष्म अध्ययन गर्न आईसीसीका संस्थापक सदस्य तथा पूर्व उपाध्यक्ष सागर नेपालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको जानकारी दिइयो । एकता सभाकै अवसरमा कतारमा हालै सम्पन्न ‘वर्कर्स फुटबल कप–२०२६’ मा सहभागी विभिन्न नेपाली फुटबल क्लबहरूलाई पनि विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाली राजदूतावास कतारका कार्यवाहक राजदूत कुमार राईले एनआरएनए एनसीसी कतारमा देखिएको विभाजनका कारण राजदूतावासलाई समेत समन्वयमा कठिनाइ भएको बताए। उनले अहिले एकताको वातावरण बनेसँगै आगामी दिनमा सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे। कतारमा रहेका नेपाली श्रमिकहरूको हक, हित र समस्याका विषयमा राजदूतावास र एनआरएनएबीच विगतदेखि नै सहकार्य हुँदै आएको छ। अब यो सहकार्यलाई अझ मजबुत बनाइनेछ,” राईले भने।

अध्यक्ष पदम गिरीले समय र परिस्थितिका कारण फरक धारमा उभिनुपरे पनि अन्ततः सबै एकतामा बाँधिएको बताए। उनले विगतका घटनालाई गलत रूपमा व्याख्या नगर्न आग्रह गर्दै नयाँ नेतृत्वले कतारस्थित नेपाली श्रमिकहरूको पक्षमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे। कतारमा क्रियाशील विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूले पनि एनआरएनए एनसीसी कतारको एकता घोषणाले सम्पूर्ण नेपाली समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?