Butwal Today

कतारमा पाँचथरका मुक्तिनाथ अधिकारीको निधन

१ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

दोहा (कतार)  ।  वैदेशिक रोजगारीका लागि करिब आठ महिना अघि कतार पुगेका पाँचथर जिल्ला फिदिम नगरपालिका १२ निवासी मुक्तिनाथ अधिकारीको कतारमा निधन भएको छ।

कतारस्थित क्यु मिलिनियम सर्भिस कम्पनीमा सरसफाइ कर्मचारीका रूपमा कार्यरत अधिकारी गत शुक्रबार राती खाना खाएर सुतेका थिए। तर, बिहान उनी आफ्नै बेडमा मृत अवस्थामा फेला परेको बताइएको छ।

उनको मृत्यु पश्चात कतारको सरकारी हमद अस्पतालमा गरिएको पोस्टमार्टमबाट हृदयाघातका कारण निधन भएको पुष्टि भएको जनाइएको छ।

गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतार, पाँचथर समाज कतार तथा नेपाली राजदूतावास कतारको समन्वयमा शव नेपाल पठाउने कानुनी प्रक्रिया पूरा गरिएको थियो। साथै, अधिकारीले काम गरेको कम्पनीबाट पाउनुपर्ने सम्पूर्ण सेवा सुविधा समेत उपलब्ध गराइएको पाँचथर समाज कतारकी अध्यक्ष लीला राईले जानकारी दिइन्।

श्रमिक विभागका संयोजक सन्तोष पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई श्रम स्वीकृति, बिमा तथा आवश्यक कागजात समयमै नवीकरण गर्न आग्रह गरेका छन्। उनले यस्ता घटनाबाट पाठ सिक्दै आगामी दिनमा सुरक्षाप्रति थप सजग रहनुपर्ने बताए।

बुधबार साँझ एनआरएनए एनसिसी कतारका श्रमिक विभाग संयोजक सन्तोष पौडेल, सचिव सुजन गुरुङ तथा अध्यक्ष लीला राई हमद अस्पतालमा पुगेर शव व्यवस्थापन तथा नेपाल पठाउने प्रक्रियामा सहयोग गरेका थिए। मृतक अधिकारीको शव बुधबार राती कतार एयरवेजमार्फत नेपाल पठाइएको छ। उनका श्रीमती र दुई नाबालक छोरा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?