Butwal Today

तिलोत्तमाका सबै वडामा निःशुल्क निवेदन सेवा सुरु

३१ बैशाख २०८३, बिहीबार
अ+
अ-

रुपन्देही । तिलोत्तमा नगरपालिकाका सबै वडा कार्यालयमा अब विभिन्न प्रकारका निवेदन निःशुल्क उपलब्ध गराइएको छ। यससँगै सेवाग्राहीले सामान्य निवेदन लेखाउन बाहिर गएर पैसा तिर्नुपर्ने बाध्यता हट्ने भएको छ। नगरपालिकाले वडा कार्यालयहरूमा करिब ४० प्रकारका नेपाली तथा अंग्रेजी भाषाका निवेदनका नमुना छापेर सेवाग्राहीले सजिलै देख्ने स्थानमा राखेको जनाएको छ। यसबाट नागरिकले आफैं निवेदन तयार गर्न सक्ने र अनावश्यक खर्च बचत हुने अपेक्षा गरिएको छ।केही वडाहरूमा निःशुल्क हेल्प डेस्कसमेत सञ्चालनमा ल्याइएको छ भने वडा सदस्यहरूले समेत सेवाग्राहीका निवेदन लेखेर सहयोग गरिरहेका छन्। वडा बाहिर निवेदन लेखाउँदा चर्को शुल्क लिने गरिएको गुनासो बढेपछि नगरपालिकाले यस्तो व्यवस्था सुरु गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले लामो समयदेखि निवेदन लेखाउने नाममा सेवाग्राहीको ठूलो रकम खर्च हुने अवस्था देखिएपछि सबै प्रकारका निवेदनको ढाँचा वडा कार्यालयमै निःशुल्क उपलब्ध गराउने योजना सुरु गरिएको बताए। उाका अनुसार घटना दर्ता, सामाजिक सुरक्षा, नक्सा, दीर्घरोगी सिफारिस तथा वडाबाट प्रदान गरिने विभिन्न सिफारिससम्बन्धी निवेदनका नमुना सहज रूपमा उपलब्ध गराइएको छ। साथै अंग्रेजी भाषामा आवश्यक पर्ने निवेदन तथा कागजातको नमुना समेत राखिएकाले अनुवादका लागि थप खर्च गर्नुपर्ने अवस्था हट्ने अपेक्षा गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत भुसालले नगरवासीलाई निःशुल्क पाइने सेवामा अनावश्यक पैसा खर्च नगर्न आग्रह गरेका छन। नगरपालिकाका अनुसार दैनिक एउटा वडामै ३० देखि ५० वटासम्म निवेदन बाहिर लेखाउनुपर्ने अवस्था रहेको थियो। निःशुल्क निवेदन सेवाबाट सेवाग्राहीको वार्षिक रूपमा लाखौं रुपैयाँ बचत हुने नगरपालिकाले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?