© 2026
चितवन । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–१७ का २७ वर्षीय कृष्णबहादुर खड्का र स्याङ्जाको साबिक जगतभञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर ४ घर भई हाल पोखरा महानगरपालिका–१५ बस्ने २८ वर्षीय सम्राट गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार उनीहरूलाई पोखरा महानगरपालिका–८ स्थित अशोक होटलबाट पक्राउ हालै गरिएको हो । पक्राउ परेकामध्ये खड्काले यही वैशाख २२ गते भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित सम्भव अटो पसल अघि रुपन्देहीको सैनामैना नगरपालिका–६ का ३० वर्षीय आशिष खनाललाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । खड्का र खनालबिच आर्थिक लेनदेन र मोबाइलको विषयमा विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
खनालको मोबाइल खड्काले चलाउँदै आएको तर फिर्ता माग्दा सामाजिक सञ्जालमा विवाद भएको भेटिएको पुरीले बताए । गुरुङले खड्कालाई लुकाई छिपाइ राख्ने सहयोग गरेको अभियोगमा पक्राउ गरिएको हो । दुवै जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएर थप अनुसन्धान सुरु गरिएको उनले बताए ।