© 2026
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रले हालसम्म १२ लाख थान स्मार्ट सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ सम्पन्न गरेको छ। अब थप १७ लाख थान स्मार्ट लाइसेन्स छाप्नका लागि यातायात व्यवस्था विभागसँग नयाँ सम्झौता गरिएको छ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्रले आउँदो असार मसान्तसम्म थप १७ लाख थान ‘क्युआर कोड’ सहितको स्मार्ट लाइसेन्स छाप्ने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ। विभाग र केन्द्रबीच वैशाख ४ गते दोस्रो चरणको सम्झौता भएपछि वैशाख तेस्रो सातादेखि छपाइ सुरु गरिएको हो।
केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार पहिलो चरणअन्तर्गत १२ लाख थान लाइसेन्स छपाइ गरी वैशाख पहिलो सातामै यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरिएको थियो। तीमध्ये ३७ हजार ६९८ थान अत्यावश्यक सेवा अन्तर्गत, ११ लाख ३१ हजार ७५ थान ब्याकलग र ३१ हजार २०७ थान दैनिक प्रिन्टका लाइसेन्स रहेका छन्।
सरकारले लामो समयदेखि थन्किएको लाइसेन्स ब्याकलग हटाउन तथा दैनिक माग व्यवस्थापन गर्न दोस्रो चरणको छपाइ प्रक्रिया अघि बढाएको जनाएको छ। यसका लागि आवश्यक कागज तथा अन्य सामग्री खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सँग सम्झौता गरिएको छ। हाल केन्द्रमा ९ जना इन्जिनियर र १६ जना प्राविधिक कर्मचारीसहित २५ जना जनशक्ति खटाइएको छ। आवश्यक कच्चा पदार्थ आयातमा केही समय लाग्ने भएकाले अहिले अत्यावश्यक तथा २४ घण्टे सेवाअन्तर्गतका लाइसेन्स मात्र छापिने जनाइएको छ।
दोस्रो चरणको सम्झौताअन्तर्गत हालसम्म विभिन्न प्रकृतिका करिब २३ हजार लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गरिसकिएको केन्द्रले जनाएको छ।सुरक्षण मुद्रण केन्द्रमा राहदानी, बैंक नोट, स्मार्ट कार्ड, हुलाक टिकट, चालक अनुमतिपत्र, अन्तः शुल्क स्टिकर तथा सिमकार्डलगायत सुरक्षित छपाइ गर्न सकिने व्यवस्था रहेको छ। सरकारले यस केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि सुरक्षित मुद्रणका नाममा विदेशिने वार्षिक करिब १० अर्ब रुपैयाँ बचत हुने अपेक्षा गरेको छ।