© २०२३
देउखुरी, ३ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरिले कालिका मानवज्ञान माविकी कक्षा १२ मा कानून अध्ययनरत विद्यार्थी प्रशंसा खनाललाई सद्भावना दुत चयन गरेका छन् । कालिका मानवज्ञान् माविले सुरु गरेको मेरो सांसद कार्यक्रम अन्तर्गत मुख्यमन्त्रीले खनाललाई चयन गरेका हुन् ।
सद्भावना दुत चयन गरेपछि बोल्दै मुख्यमन्त्री गिरीले मेरो सांसद कार्यक्रमले प्रदेश सभा र प्रदेश सरकारलाई जोड्ने र यस्ता कार्यक्रमले सभासद र सरकारलाई नागरिकबाट सल्लाह सुझाव प्राप्त हुने बताए । कालिकामा कानून समूहमा अध्ययनरत विद्यार्थीहरुलाई लुम्बिनी प्रदेश सांसदसँग सहकार्य गर्ने गरी लुम्बिनी प्रदेश सभा देउखुरीमा मङ्गलबार मेरो सांसद सञ्चालन गरेको थियो । कार्यक्रममा ८० जना विद्यार्थीहरुले लुम्बिनी प्रदेश सभासदलाई आफ्नो सांसदको रुपमा छनौट गरेका थिए भने सभासदहरुले विद्यार्थीलाई सद्भावना दूतको रुपमा स्विकार गरी सहमतिपत्र आदानप्रदान गरेका थिए ।
प्रदेशसभा परिसरमा आयोजित कार्यक्रममा ६५ जना सभासदले बढीमा २ जना विद्यार्थीलाई सद्भावना दुत रोजेका थिए । नवनियुक्त प्रदेश सभाका सभामुख तुलाराम घर्तीले विद्यार्थी सुविसा नेपाललाई आफ्नो सद्भावना दूतको रुपमा रोजेका थिए । उनले संक्षिप्त मन्तव्य दिदै कानूनका विद्यार्थीहरुले प्रदेश सभामा विधि निर्माण र नागरिकका समस्या सांसद मार्फत सरकारमा लैजान सक्ने भएकोले कार्यक्रमको प्रशंसा गर्दै कार्यक्रमलाई प्रदेश सभाले निरन्तर साथ दिने बताए ।
मेरो सांसद कार्यक्रममा पुगेका विद्यार्थीहरुलाई जिल्लाजिल्लाका सांसदहरुले सहजीकरण गरेका थिए । नेपाली काङ्ग्रेसको सांसद जमुना ढकालले आफू पनि विद्यार्थी राजनीतिबाट प्रदेश सभामा पुगेको स्मरण गर्दै प्रदेश सभा सदस्यको रुपम काम गर्न सद्भावना दूतबाट सहयोग मिल्ने बताईन् । नेकपा एमालेका सांसद बिष्णु पन्थीको सद्भावना दुत बनेकी सीता भुसालले मेरो सांसद कार्यक्रमबाट प्रदेश सभाको काम बुझ्न पाउने र नागरिकका समस्याहरू सरकारसम्म पु¥याउन सहज हुने बताइन् ।
मेरो सांसद कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले ५ वर्ष लुम्बिनी प्रदेश सभाका सांसदको सद्भावना दूतको रुपमा काम गर्नेछन । सद्भावना दूतको रुपमा छानिएका विद्यार्थीहरुले सांसदलाई नागरिकका समस्या र गुनासोहरुको रिपोर्टिङ गर्ने, प्रदेशको कानून निर्माणमा सुझाव दिने काम गर्नेछन् ।