© 2026
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा छपनी ढुङ्गा बिछ्याएर गरिएको ढलको नाला ढलान भत्काइएको छ ।
धैलागिरि गाउँपालिकाले सञ्चालन गरेको गुर्जाखानी छन्त्याल बस्ती पूर्वाधार योजनामा निर्माण व्यवसायीले त्रुटि गरेको भेटिएपछि भत्काएर पुनर्निर्माण गर्न लगाइएको हो । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर, वडाध्यक्ष झक छन्त्यालको टोलीले उक्त योजना अनुगमनका क्रममा मापदण्ड, ठेक्का सम्झौता र डिजाइनभन्दा फरक काम भएको पहिचान गरेको थियो ।
गाउँपालिकाका उपाध्यक्ष पुन मगरले स्थानीयको गुनासोपछि अनुगमनका क्रममा त्रुटि भएको नालाको खण्ड भत्काएर पुनर्निर्माण गर्न लगाएको जानकारी दिए । रड र फर्मा राखेर ढलान गर्नुपर्नेमा नालाको ढकनीमा ढुङ्गाको छपनी राखेपछि गिट्टी, बालुवा र सिमेन्ट राखेर ढलान गरेको भेटिएपछि करिब २० मिटर नाला भत्काएर पुनर्निर्माण गराएको उनले बताए ।
सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु २५ लाख विशेष अनुदान उपलब्ध गराएको उक्त योजना निर्माणका लागि एसके कन्ट्रक्सनले २०८२ माघमा रु २२ लाख ९९ हजार ६०६ मा ठेक्का सम्झौता गरेको थियो ।
दुई सय ६० मिटर पक्की नाला निर्माण गर्नुपर्ने योजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण कम्पनीका स्थानीय प्रतिनिधि कमल छन्त्यालले मजदुरहरूले काम गर्ने क्रममा डिजाइन नबुझेर छपनीमा ढलान गरेको स्वीकार गर्दै कमजोरीलाई सुधार गरिएको बताए ।
गुर्जा र चुरेन हिमालको फेदीमा समुद्री सतहदेखि दुई हजार ७०० मिटर उचाइमा रहेको गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायका २६० घरपरिवारको बसोबास रहेको छ । गुजमुज्ज बाक्लो बस्ती रहेको गुर्जामा ढल व्यवस्थापन गरी सरसफाइ कायम गराउन आयोजना सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पुनले बताए ।