© 2026
सुनवल । शिक्षकको काज सरुवाको विषयले चर्चामा आएको सुनवल नगर सरकारको शिक्षा शाखाका प्रमुखलाई नगर प्रमुख विमला अर्यालले शिक्षा शाखा प्रमुख (उपसचिव) विष्णुप्रसाद गोतामेलाई स्पष्टीकरण सोधेपछि पुनः चर्चामा आएको हो ।
स्पष्टीकरणले सुनवलमा तुलनात्मक रूपमा सुधारिएको सामुदायिक विद्यालयको शिक्षालाई कमजोर बनाउन वा बलियो बनाउन लागेको भन्ने स्थानीयमा आशङ्का उत्पन्न भएको छ । केही दिन अगाडि नगर प्रमुख अर्याल र शिक्षा शाखा प्रमुख गोतामेले शिक्षक काज सरुवाको विषयमा छुट्टाछुट्टै पत्र जारी गरेपछि यो विषयले चर्चा पाएको हो ।
शिक्षा शाखा प्रमुख गोतामेले ‘काज फिर्ता सम्बन्ध’ को पत्र जारी गरेर सात दिनभित्र सम्बन्धित विद्यालयमा जान भनिएको छ । २०७८ साल पुस २७ गतेपछि र २०७८ मङ्सिर २७ गतेपछि विभिन्न मितिमा शिक्षा समितिले काज सरुवा गरेका शिक्षकहरूलाई नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा सात दिनअघि (वैशाख १३ सम्म) सम्बन्धित विद्यालयमा हाजिर हुनका लागि विज्ञप्ति मार्फत सार्वजनिक सूचना जारी गरेपछि नगर प्रमुख अर्यालले समेत विज्ञप्ति जारी गरेपछि नगर प्रमुख र शाखा प्रमुखको विवाद सतहमा आएको हो ।
लामो समयदेखि काज सरुवा भएका शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधिअनुसार हुन नसकेको र हाल शिक्षकको वृत्ति विकासमा गम्भीर असर परेको भन्दै विज्ञप्ति जारी भएपछि दुवै जनाबिचको विवाद छताछुल्ल भएको हो ।
५९ जना शिक्षकको काज सरुवा गरिएको थियो । ३५ वटा सामुदायिक विद्यालय रहेको नगर क्षेत्रमा १५४ स्थायीसहित ५२२ जना शिक्षक कार्यरत छन् । ती विद्यालयमा कुल विद्यार्थीको सङ्ख्या १३ हजार बढी रहेको शिक्षा शाखाले जनाएको छ ।
नगर शिक्षा समितिकी संयोजकसमेत रहेकी अर्यालले शिक्षा शाखाबाट जारी पत्रलाई अनधिकृत र अवैध रहेको विज्ञप्ति मार्फत उल्लेख गरेकी छन् । उनले विद्यार्थी सङ्ख्याका आधारमा दरबन्दी मिलान गर्ने अधिकार शिक्षा समितिसँग रहेको दाबी गर्दै समितिको निर्णय नै आधिकारिक हुने दाबी गरिन् ।
शिक्षा विकास इकाईको पत्रअनुसार नै काज सरुवा गरिएको र समितिको निर्णयको अवज्ञा गर्ने शिक्षकलाई शिक्षा ऐनअनुसार कारबाही हुने चेतावनी दिएकी छन् ।
दुई जनाको विवादले शिक्षकहरूनै अन्योलमा परेको समयमा फेरि नगर प्रमुखले शिक्षा शाखा प्रमुखलाई लिखित जवाफ मागेपछि विवाद झनै झाँगिँदै गएको छ ।

