Butwal Today

भारत–नेपाल सहकार्यमा स्वास्थ्य चौकी भवनको शिलान्यास

२५ बैशाख २०८३, शुक्रबार
अ+
अ-

चन्द्रौटा ।

नेपालका लागि भारतीय दूतावासकी द्वितीय सचिव गरिमा नौटियालले भारतले नेपालमा शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताएकी छन् ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण हुन लागेको पत्थरदेइया स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले नेपाल–भारत सहकार्य अन्तर्गत अघि बढाइएका विकास परियोजनाले दुई देशबिचको सम्बन्धलाई थप सुदृढ बनाएको उल्लेख गरिन् ।

उनका अनुसार भारतले वर्षौँदेखि नेपालमा पूर्वाधार तथा विकास निर्माणका विभिन्न परियोजनामा सहकार्य गर्दै आएको छ । नेपालभर सञ्चालनमा रहेका ६ सयभन्दा बढी विकास योजनामध्ये लुम्बिनी प्रदेशमा ६६ वटा तथा कपिलवस्तु जिल्लामा ६ वटा योजना सञ्चालनमा रहेका छन् । निर्माण हुन लागेको स्वास्थ्य चौकी भवन दुई देशबिचको विकास साझेदारीको महत्त्वपूर्ण उदाहरण भएको उनले बताइन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले नेपाल–भारतबिच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्दै सीमा क्षेत्रका नागरिकबिच पारिवारिक र सामाजिक सम्बन्धसमेत घनिष्ठ रहेको बताए ।

उनले नेपालको विकास तथा जनहितका लागि भारतले पूर्वाधार निर्माणसँगै विपद्का समयमा आर्थिक तथा बहुपक्षीय सहयोग गर्दै आएको उल्लेख गरे । स्वास्थ्य चौकी भवन केवल भौतिक संरचना मात्र नभई नेपाल–भारत सम्बन्धको प्रतीकका रूपमा रहने उनको भनाइ थियो ।

स्वास्थ्य चौकी भवन २ करोड ११ लाख ५३ हजार ७ सय ३३ रुपैयाँको लागतमा निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले बताए । कुल लागतको ९५ प्रतिशत रकम भारतीय दूतावासले तथा बाँकी ५ प्रतिशत रकम विजयनगर गाउँपालिकाले व्यहोर्ने उनको भनाइ छ ।

प्राविधिक अधिकृत हेमन्त कुमार चौधरीले भवन दुई तल्ले हुने जानकारी दिए । उनका अनुसार भवनसँगै चमेना गृह, शौचालय तथा ल्यान्डस्केप विकाससहित सुविधा सम्पन्न स्वास्थ्य संस्था निर्माण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?