© 2026
काठमाडौँ । नेपाली खानाको मौलिकता, विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो राष्ट्रिय पाककला प्रतियोगिता हुने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी र नेपाल सेफ सोसाइटीको संयुक्त आयोजनामा आगामी जेठ १ र २ गते झापाको पाथीभरा कुलिनरी आर्ट कलेजमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । नेपाल सेफ सोसाइटीले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले प्रतियोगिताले नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतासँग जोड्न सहयोग पुग्ने बताए ।
उजले नेपालका सातै प्रदेशका मौलिक तथा रैथाने खानाको खोज, अनुसन्धान, संरक्षण र प्रवर्द्धनमा प्रतियोगिता केन्द्रित रहने बताए । “विभिन्न भौगोलिक क्षेत्रका लोपोन्मुख तथा परम्परागत परिकारलाई एउटै मञ्चमा प्रस्तुत गर्दै नयाँ पुस्ताका सेफलाई सृजनशीलता र नवप्रवर्तनतर्फ प्रेरित गर्ने हाम्रो उद्देश्य हो”, उनले भने ।
कार्यक्रममा खुला पाककला प्रतियोगिता, विभिन्न खाद्य प्रतिस्पर्धा तथा खाद्य महोत्सव आयोजना गरिनेछ । ५० भन्दा बढी स्टल रहने महोत्सवमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरका परिकारको स्वाद लिन सकिने जनाइएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन तीन सदस्यीय टोली अनिवार्य गरिएको छ । सहभागी टोलीले सोसाइटीको आधिकारिक खातामा पाँच हजार दर्ता शुल्क जम्मा गरी सहभागिता सुनिश्चित गर्नुपर्ने जनाइएको छ । प्रतियोगिताका विजेताले प्रथम पुरस्कार एक लाख, द्वितीय ७५ हजार र तृतीयले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।