© 2026
सल्यान । सल्यानमा यस वर्ष काफल उत्पादन घट्दा स्थानीयको मौसमी आम्दानीमा असर परेको छ । जङ्गल, किसानका ढिक तथा काल्ना क्षेत्रहरूमा पाइने काफल अघिल्ला वर्षहरूको तुलनामा निकै कम फलेको स्थानीयहरू बताउँछन् ।
विशेष गरी कपुरकोट, त्रिवेणी, छत्रेश्वरी, कालिमाटी र शारदा क्षेत्र काफल उत्पादनका लागि परिचित मानिन्छन् । यी क्षेत्रमा हरेक वर्ष काफल पाक्ने मौसम सुरु भएसँगै स्थानीयले जङ्गल तथा भिरालो भूभागबाट काफल सङ्कलन गरी नजिकका बजारसम्म पु¥याएर राम्रो आम्दानी गर्ने गरेका थिए । काफल बिक्रीबाट आएको रकमले धेरै परिवारको दैनिक खर्च धानिने गरेको थियो ।
तर यस वर्ष काफल कम फलेपछि त्यो आम्दानीमा गिरावट आएको स्थानीय बताउँछन् । छत्रेश्वरी गाउँपालिका वडा नं. ५ की कार्यपालिका सदस्य तीला घर्तीका अनुसार अघिल्ला वर्षहरूमा प्रशस्त पाइने काफल यस पटक निकै कम मात्रामा भेटिएको छ ।
कपुरकोट गाउँपालिका वडा नं, ४ का वडा अध्यक्ष मित्रलाल कठायतले अघिल्ला वर्षहरूमा काफल सिजनमै आफ्नो क्षेत्रबाट मात्रै करिब २५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको थियो । “यस वर्ष उत्पादन निकै कम भएपछि त्यो आम्दानी घट्ने निश्चित छ,” उनले भने ।
काफलसँग जोडिएको आन्तरिक पर्यटनसमेत यस वर्ष प्रभावित बनेको छ । हरेक वर्ष काफल पाक्ने समयमा दाङ लगायत छिमेकी जिल्लाबाट मानिसहरू काफल खान र घुम्न आउने गरेका थिए । तर उत्पादन कम हुँदा यस वर्ष त्यस्तो चहलपहल घटेको स्थानीय बताउँछन् ।
यता वनस्पति विज्ञहरूले भने काफल उत्पादनमा आएको कमीलाई पूर्ण रूपमा अस्वाभाविक नभएको बताउँछन् । सल्यानको मुलपानीस्थित वनस्पति अनुसन्धान केन्द्रका प्रमुख वैज्ञानिक अधिकृत डा. मित्र पाठकले फलफूलका बोटबिरुवामा “अल्टरनेट बियरिङ” अर्थात् एक वर्ष धेरै फल्ने र अर्को वर्ष कम फल्ने प्राकृतिक प्रवृत्ति पाइने गरेको बताए ।
उनका अनुसार कुनै वर्ष धेरै फल लाग्दा बोटले आफ्नो अधिकांश ऊर्जा फल उत्पादनमै खर्च गर्ने भएकाले अर्को वर्ष नयाँ फूल र फल उत्पादनका लागि आवश्यक ऊर्जा कम हुने गर्दछ ।
त्यसै गरी अघिल्लो वर्षको उच्च उत्पादनले बोटको हर्मोन सन्तुलनमा असर पार्ने र नयाँ फूल बन्ने प्रक्रियामा अवरोध पु¥याउने गर्दछ । फलभित्र रहेका बीउहरूले उत्पादन गर्ने हर्मोनले समेत अर्को वर्ष फूल विकासलाई रोक्ने हुँदा उत्पादन घट्न सक्छ ।
यद्यपि स्थानीय बासिन्दाहरूले भने जलवायु परिवर्तन, अनियमित वर्षा र तापक्रममा आएको उतारचढावलाई पनि काफल उत्पादन घट्नुको अर्को कारणका रूपमा औँल्याएका छन् । पछिल्ला वर्षहरूमा मौसमको अनिश्चितताले प्राकृतिक फलफूलको उत्पादनमा प्रभाव पार्दै आएको उनीहरूको भनाइ छ ।