© 2026
गुल्मी । पछिल्लो समयमा गुल्मीमा कफीको उत्पादन घट्दै गएको भन्दै जिल्लामा कफीको उत्पादन र यसको व्यवसायिकीकरणमा जोड दिनुपर्ने बताइएको छ ।
रूरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गुल्मीलाई कफीको व्यवसायिक उत्पादन, प्रशोधन र बजारीकरणसँग जोड्नका लागि नीति, कार्यक्रम र बजेटबीच स्पष्ट तालमेल आवश्यक रहेको बताएक छन् ।
रूरुक्षेत्र गाउँपालिका –४ स्थित कफी अनुसन्धान कार्यक्रम परिसरमा आयोजित कफी उत्पादन, प्राथमिक प्रशोधन, भण्डारण तथा बजारीकरण सम्बन्धी तीन दिने जिल्ला स्तरीय तालिम समापन कार्यक्रमा अध्यक्ष ज्ञवालीले उक्त कुरा बताएक हुन् । पछिल्लो समयमा जिल्लामा कफी उत्पादन घट्दो क्रममा रहेको उल्लेख गर्दै ज्ञवालीले गुल्मीमा कफीको इतिहास जोगाउन स्थानीय तहले थप प्रभावकारी योजना अघि सार्नुपर्ने धारणा व्यक्त गरे ।
उनले कफीको जिल्ला भनेर चिनिने गुल्मीलाई केवल नारामा मात्र सीमित नगरी ठूलो परिमाणमा बगैँचा विस्तार, व्यवसायिक उत्पादन र कफी पर्यटनसँग जोडेर विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष ज्ञवालीले गुल्मीमा कफीको क्षेत्रमा परिणाम दिने गरी काम गनुपर्र्ने आवश्यक रहेको बताए । तालिममा कफी उत्पादनदेखि प्रशोधन, भण्डारण र बजार व्यवस्थापनसम्मका विषयमा जानकारी गराईएको थियो ।
तीन दिनसम्म सञ्चालन गरिएको तालिममा कफी खेतीको परिचय, जातीय गुण तथा विशेषता, काँटछाँट तथा पुनर्जीवन, बगैँचा स्थापना, एकीकृत खाद्यतत्व व्यवस्थापन, गुणस्तरीय बीउ उत्पादन, नर्सरी व्यवस्थापन, रोग तथा कीरा पहिचान र व्यवस्थापनबारे प्रशिक्षण दिइएको थियो ।
यस्तै बोर्डो पेस्ट तथा मिश्रणको प्रयोग, कफी टिप्ने सही समय र तरिका, ग्रेडिङ, प्याकेजिङ, कफी पल्पिङ, लेबलिङ, भण्डारण तथा गोदाम व्यवस्थापन लगायत सैद्धान्तिक तथा व्यवहारिक ज्ञानसमेत प्रदान गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीमा प्रमुख एवं वरिष्ठ कृषि अधिकृत नवराज पण्डितले जानकारी दिएका छन् ।
कार्यक्रममा सहभागी कृषकहरूले कफीमा लाग्ने गवारोको समस्या, बगैँचा व्यवस्थापनमा कठिनाइ, प्राविधिक ज्ञानको अभाव, रोग तथा कीरा पहिचानमा समस्या, जात छुट्याउन नसक्नु, रोपण विधि र नर्सरी व्यवस्थापनमा चुनौती रहेको बताएका थिए । कृषकहरूले उत्पादन बढाउन प्राविधिक सहयोग, गुणस्तरीय बिरुवा, रोग–कीरा व्यवस्थापन तथा बजार सुनिश्चितताका लागि स्थानीय तहको थप सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
तालिममा कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवं वरिष्ठ वैज्ञानिक जनार्जन गौतम, वरिष्ठ कृषि अधिकृत नवराज पण्डित तथा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धिताल लगायतले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहभागी कृषकहरूले कफीमा लाग्ने गवारोको समस्या, बगैँचा व्यवस्थापन, प्राविधिक ज्ञान अभाव, रोग–कीरा पहिचान, जात पहिचान, रोपण विधि तथा नर्सरी व्यवस्थापन मुख्य समस्या रहेको बताएका थिए ।
उक्त तालिमले कफीको उत्पादनमा वृद्धि, गुणस्तरमा सुधार तथा बजारको पहुँच विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको सहभागिहरूले बताएका थिए ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको आयोजनामा सञ्चालन भएको उक्त तालिममा जिल्लाका १० स्थानीय तहका अगुवा कफी कृषकहरूको सहभागिता रहेको थियो ।