Butwal Today

यती विमान दुर्घटना : ‘ब्ल्याक बक्स’ भेटियो

२ माघ २०७९, सोमबार
अ+
अ-

बुटवल,२ माघ ।

आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ। दुर्घटनास्थलमा भर्खरै ब्ल्याकबक्स भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले पुष्टि गरे। बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ।

भेटिएका शवहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ। तीमध्यये २६ जनाको मात्र पहिचान  खुलेको छ। तर, शवको पोष्टमार्टम भने अहिलेसम्म पनि हुन सकेको छैन।

सरकारले बनाएको ५ सदस्यीय जाँचबुझ समितिले मुख्यत ‘ब्ल्याक बक्स’को आधारमा दुर्घटनाको कारण पत्ता लगाउने छ। ब्ल्याक बक्समा जहाज उडानको सबै जानकारी रेकर्ड रहन्छ।

जहाजको पर्फमेन्स (उडान प्रस्तुती) र प्यारामिटरको (जहाज सञ्चालनको सिमा) विषयमा रेकर्ड हुन्छ। जसमा जहाजको एयरस्पिड, उचाई, भर्टिकल एक्सिलेरेसन र इन्जिनमा इन्धनको प्रवाह लगायतको जानकारी हुन्छ।

ब्यालक बक्समा मुख्यत २ वटा कम्पोनेन्ट हुन्छ। फ्लाईट डाटा रेकर्डर र ककपिटको भ्वाइस रेकर्ड हुन्छ। बक्समा पाइलट र विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलरबीचको कुराकानी रेकर्ड हुन्छ।

पाइलट र एटीसीबीचको रेकडिङ कम्तीमा २ घण्टासम्मको हुन्छ। फ्ल्याईट डाटा रेकर्ड भने २५ घण्टासम्मको हुन्छ।