Butwal Today

मानव एकता दिवसमा सल्यानमा ३४ जनाद्वारा रक्तदान

१९ बैशाख २०८३, शनिबार
अ+
अ-

सल्यान । मानव एकता दिवसको अवसरमा सल्यानमा रक्तदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

छत्रेश्वरी गाउँपालिका, ३ सिंगारिकोटमा शनिबार आयोजित कार्यक्रममा ३४ युनिट रगत सङ्कलन हुनुका साथै २८ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

सन्त निरंकारी मण्डल नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा १७ महिला र १७ पुरुष गरी ३४ जनाले रक्तदान गरेका थिए । रक्त सञ्चार केन्द्र घोराही, दाङको प्राविधिक टोलीले रगत सङ्कलन गरेको हो ।

संकलित रगत मध्ये चार युनिट जिल्ला अस्पताल सल्यान पठाइएको छत्रेश्वरी गाउँपालिका सत्संग इन्चार्ज रूपलाल गिरीले जानकारी दिए ।

सिंगारिकोट स्थित सन्त निरंकारी सत्संग भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि छत्रेश्वरी गाउँपालिका अध्यक्ष तथा कर्णाली प्रदेश समन्वय परिषद् सदस्य ओजबहादुर बुढाथोकीले रक्तदानलाई मानव जीवन बचाउने सरल र प्रभावकारी माध्यम भएको उल्लेख गरे ।

उनले यस्ता कार्यक्रमले समाजमा सहयोग, सहकार्य र एकताको भावना मजबुत बनाउने बताउँदै स्थानीय तहबाट यस्ता अभियानलाई सहयोग रहने प्रतिबद्धता जनाए ।

जिल्ला समन्वय समिति सदस्य हरि केसी, वडा नं. ३ का वडा अध्यक्ष तिर्थराज दाहाल, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य पुष्पलता घर्ती, कालिमाटीका सत्संग इन्चार्ज तथा जेष्ठ नागरिक रामसिंह खासु मगरलगायतले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै रक्तदानजस्ता कार्यले समाजमा सकारात्मक सन्देश दिने बताएका थिए ।

सोही अवसरमा शारदा नगरपालिका, ८ मार्केका स्वर्गीय प्रेमबहादुर कँवरको स्मृतिमा स्थापना गरिएको स्मृतिकोषमार्फत ५ देखि १४ वर्ष उमेर समूहका २८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । उक्त सामग्री स्वर्गीय कुँवरकी श्रीमती भिमी कुँवरसहित परिवारका सदस्यहरूको उपस्थितिमा वितरण गरिएको हो ।

कार्यक्रम संयोजक हरिकला कुँवरले मानव सेवा, सहयोग र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन । “मानिसको रगत नालीमा होइन, नाडीमा बगाऔँ” भन्ने बाबा हरदेव सिंह महाराजको सन्देशलाई आत्मसात् गर्दै मानव एकता दिवस मनाइएको उनले जानकारी दिइन । सन्त निरंकारी मण्डलले सल्यानमा प्रत्येक वर्ष रक्तदानसहित विभिन्न सामाजिक कार्यक्रम गर्दै मानव एकता दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?