© 2026
सल्यान । सल्यान प्रहरी परिसरभित्र फेला परेका ८६ थान बम तथा विस्फोटक सामग्री नेपाली सेनाको विशेष बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
शारदा नगरपालिका, ३ बयलडाँडास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा फेला परेका बम तथा विस्फोटक पदार्थ सुरक्षात्मक प्रक्रिया पछि डिस्पोज गरिएको हो ।
बुधबार दिउँसो करिब १२ः३५ बजे जग खन्ने क्रममा पहिलो पटक सकेट बमजस्तो देखिने शङ्कास्पद वस्तु भेटिएपछि उत्खनन कार्य तत्काल रोकिएको थियो । त्यसपछि प्रहरीले नेपाली सेनासँग समन्वय गरेको थियो ।
प्रहरी र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा परिचालित भएको थियो । प्रारम्भिक उत्खननकै क्रममा १० वटा सकेट बम भेटिएपछि थप जोखिम मूल्याङ्कन गरी विशेष बम डिस्पोजल टोली बोलाइएको थियो ।
शनिबार बिहान ११ः२० बजेसम्म उत्खननको क्रममा बमको सङ्ख्या बढेर ८६ पुगेको थियो । तीमध्ये ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम फेला परेका थिए ।
साथै करिब ७ थान रेडियो वेभ सेट, करिब ५०० ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने करिब २ केजी सामग्री र १० मिटर फायरिङ केबल पनि बरामद भएको थियो ।
शनिबार बिहान ८ः२० बजे काली भक्तिगण भैरहवाबाट सेनानी श्रीप्रसाद राम जालीको कमान्डमा ६ जना इन्जिनियरसहितको टोली र सिद्धी बक्स गण सल्यानबाट सेनानी महेश अधिकारीको नेतृत्वमा १० जनाको थप टोली घटनास्थलमा पुगेपछि डिस्पोजल प्रक्रिया अगाडि बढाइएको थियो ।
त्यसअघि नै मध्यपश्चिम पृतना अन्तर्गत नं. १९ बाहिनी तुलसीपुर, दाङबाट विशेषज्ञ टोली परिचालन भइसकेको थियो ।
प्राविधिक टोलीले सबै विस्फोटक सामग्री सुरक्षित स्थानमा स्थानान्तरण गर्दै निष्क्रिय पारेको हो । लामो समय जमिनमुनि गाडिएको अवस्थामा रहेकाले केही बमहरू खिया लागेको र अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको भए पनि कुनै मानवीय वा भौतिक क्षति नभएको सुरक्षा निकायले जनाएको छ ।
ती बम सशस्त्र द्वन्द्व कालका बेला बरामद गरिएका बम हुनसक्ने अनुमान गरिएको छ । त्यो बेला बङ्करमा राखिएको अवस्थामा रहेको र समयसँगै पुरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार बुधबार सुरु भएको घटनापछि तत्कालै सुरक्षा सतर्कता अपनाइएकाले दुर्घटना हुनबाट जोगिएको हो ।