© 2026
भैरहवा । २५७० औँ बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी विश्व शान्ति मञ्चले भैरहवामा वृक्षारोपण तथा रक्तदान कार्यक्रम गरेको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं. ५ स्थित भैरहवा नमुना मा.वि. परिसरमा विभिन्न सङ्घ–संस्था, बैङ्क तथा बिमा कम्पनीहरूको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
मञ्चका अध्यक्ष बासूँ गौतमले ‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ भन्ने नारासहित सुरु गरिएको यो अभियान आगामी दुई महिनासम्म सञ्चालन हुने जानकारी दिए। आज करिब २०८ वटा बिरुवा रोपिएको छ भने बाँकी करिब २५०० बिरुवा आगामी दुई महिनाभित्र भैरहवा–लुम्बिनी क्षेत्रमा रोपिनेछन्—उनले भने ।
यसअघि पनि यस्ता अभियान सञ्चालन गर्दै आएको मञ्चले विशेष गरी फलफूलका बिरुवामा जोड दिँदै आएको छ । यसले वातावरण संरक्षणसँगै विद्यार्थीहरूमा उत्पादनमुखी सोच र दिगो विकासप्रति सचेतना बढाउने विश्वास गरिएको छ ।
कार्यक्रमकै अवसरमा भैरहवा नमुना उच्च माविका लागि एक अक्षय कोष स्थापना गरिएको छ । रिसाइकल टु भिराइसका कोषाध्यक्ष रमेश खड्काले आफ्ना स्वर्गीय बुवाको सम्झनामा कोष स्थापना गरेका हुन् ।
लुम्बिनी प्रदेश मा सन् २०२६ सेप्टेम्बर २१ देखि २३ (२०८३ असोज ५–७) सम्म ‘विश्व शान्ति फोरम’ आयोजना गरिने उनले जानकारी दिए । सेनजेन पिस फाउन्डेसनसँगको सहकार्यमा हुने उक्त अन्तर्राष्ट्रिय मञ्चले विश्व शान्ति, विकास तथा अन्तर सांस्कृतिक समझदारी प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।