© २०२३
चन्द्रौटा (कपिलवस्तु), १ माघ ।
लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले थारु जातिको जातीय पहिचान जोगाउन पछिल्लो पुस्ता अग्रसर हुनुपर्ने बताएका छन् ।
माघी पर्वको अवसरमा शिवराज–१, उमरीस्थित एकता स्वावलम्बन कृषक समूह र शान्ति स्वावलम्बन समूहद्वारा आयोजित “तिसरा माघी सांस्कृतिक तथा सम्मान कार्यक्रम“ लाई सम्बोधन गर्दै केसीले यस्तो विचार ब्यक्त गरेका हुन् । थारू जातिको ऐतिहासिक दस्तावेजलाई जोगाउन अबको पुस्ता जाग्नुपर्ने उनले औंल्याए ।
“एउटी आमा शिक्षित भएमा परिवार नै शिक्षित हुन्छ, त्यसैले शिक्षाको दियो जलाउन घरघरमा शिक्षाको उज्यालो छर्नुपर्छ“ –प्रदेशसभा केसीले भने । हरेक ब्यक्ति शिक्षित भए मात्र समाजको अग्रगामी विकासमा परिवर्तन आउने विश्वास ब्यक्त गरे । पछिल्लो पुस्ता गलत कार्यतर्फ आकर्षित हुँदा समाजमा विकृति फैलिएको चिन्ता ब्यक्त गर्दै समाज सुधार्न युवा पुस्ता जागरुक हुनुपर्ने उनले बताए ।
यसैबीच कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले पछिल्लो समय थारूको कला, संस्कृतिको संरक्षणका लागि थारु संग्रहालय निर्माणको लागि पहल गरिएको बताइन् । संग्रहालयले थारू जातिको लोप हुन लागेका संस्कृति पहिचान र संरक्षणमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरिन् ।
सबैको सकृयताले पछिल्लो समय उमरीडाँडाको मुहारमा परिवर्तन आएको बताउँदै उपप्रमुख थारूले यसको विकासले आन्तरिक र बाह्य पर्यटक बढ्ने बिश्वास ब्यक्त गरिन् । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष खिमबिक्रम केसीले माघी पर्वले थारु जातिको संस्कृतिको जगेर्नाका साथै एकताको भावना जागृत हुनमा महत्व भूमिका खेल्ने उनले विचार ब्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष लाली कुमारी थारूले लोप हुँदै गएको थारू जातिको जातीय पहिचान बचाउन र थारू संस्कृति संरक्षणका लागि विगत तीन वर्षदेखि माघी मेलाको आयोजना गर्दै आएको बताइन् । कार्यक्रममा जेष्ठ नागरिक र गाउँघरको सामाजिक कार्यमा सहयोग पु¥याउने विभिन्न ब्यक्तित्वहरूलाई दोसल्लाले सम्मान गरिएको थियो ।