© 2026
तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा सबैजसो स्टल व्यापारिक अर्थात् नाफामूलक प्रयोजनका छन् । तर सोही महोत्सवमा एक युवा, जसले फोटोमार्फत गुल्मी चिनाइरहेका छन् ।
गुल्मी दरबार गाउँपालिकाको चारपाला निवासी दिनेश बस्नेत सानैदेखि फोटोग्राफीमा रुचि राख्थे । उनले जिल्लाका धेरै धार्मिक तथा पर्यटकीय स्थलको तस्बिर खिचेका छन् । उनले खिच्नुभएका तस्बिर महोत्सवमा प्रदर्शनीका लागि राखेका हुन ।
उनले महोत्सवको मञ्च अगाडि जिल्लाका विभिन्न स्थानका २० तस्बिर प्रदर्शनीमा राखेका छन् । जसमा गुल्मीको नामकरण भएको गुल्मी चारपाला दरबार, जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गा यज्ञ शाला, रेसुङ्गा टावर, रेसुङ्गा महापोखरी, रेसुङ्गाबाट देखिने हिमाल, भुवाने पार्क, तम्घास बजार, विभिन्न ठाउँबाट देखिने हिमशृङ्खला, चराचुङ्गीलगायतका तस्बिर छन् ।
सुरुसुरुमा उनले खिचेका तस्बिर राष्ट्रिय स्तरका मिडियामा समेत आइरहेका थिए । त्यो देख्दा उनलाई फोटोग्राफीमा रुचि बढ्न थाल्यो र थप तस्बिर खिच्न थाले । अन्ततः उनका साथी बर्दघाटका राज अधिकारीले महोत्सवमा फोटो प्रदर्शनी गर्ने सल्लाह दिए । उनको सल्लाहअनुसार दिनेशले फोटोमार्फत गुल्मी चिनाइरहेका छन् ।
प्रदर्शनीका लागि उनको व्यक्तिगत ४० हजार रुपैयाँ जति खर्च भएको छ । उनले भने, “पैसाभन्दा पनि गुल्मी चिनाउने मेरो प्रमुख उद्देश्य हो ।”