Butwal Today

अर्घाखाँचीबाट काठमाडौँ दैनिक इभी हाइस: ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई निःशुल्क टिकट

१५ बैशाख २०८३, मंगलवार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कबाट काठमाडौँसम्म र काठमाडौँबाट अर्घाखाँची सम्म दैनिक रूपमा विद्युतीय (इभी) हाइस गाडी सञ्चालनमा आउने भएका छन् ।

यात्रालाई अझ सहज, सुरक्षित र आधुनिक बनाउन सन्धिखर्क–२, चुत्राबेसीमा रहेको डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एक औपचारिक कार्यक्रममार्फत चार वटा इभी हाइस गाडी सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष मोतीराज शर्माले बताएका छन् ।

यी सवारीसाधन अब दैनिक रूपमा सन्धिखर्क–काठमाडौँ र काठमाडौँ–सन्धिखर्क दुवै दिशामा नियमित सञ्चालन हुनेछन् । सन्धिखर्कबाट बुटवल र बुटवलबाट सन्धिखर्क पनि छुट्नेछ ।

यो पहल केवल यातायात सेवा विस्तार मात्र होइन, ग्रामीण भेगलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास पनि हो । पेट्रोलियम इन्धनको विकल्पका रूपमा विद्युतीय सवारी प्रयोगले वातावरणीय प्रदूषण घटाउने मात्र होइन, यात्रालाई किफायती र दिगो बनाउने विश्वास गरिएको छ ।

सहकारीले सेवामा सामाजिक संवेदनशीलतालाई पनि प्राथमिकता दिएको छ । सहकारीका कोषाध्यक्ष दीपक केसीका अनुसार प्रत्येक इभी हाइसमा ७५ वर्षभन्दा माथिका एक जना ज्येष्ठ नागरिक तथा मिर्गौला र क्यान्सरजस्ता गम्भीर रोगबाट पीडित एक जना बिरामीलाई निःशुल्क टिकटको व्यवस्था गरिएको छ । “यातायात सेवा केवल व्यवसाय होइन, सेवा पनि हो भन्ने सन्देश दिन खोजेका हौं,” उनले भने ।

अर्घाखाँची जस्तो पहाडी जिल्लाबाट राजधानीसँगको नियमित, भरपर्दो र प्रविधिमैत्री यातायात सेवाले शिक्षा, स्वास्थ्य, व्यापार तथा अन्य आवश्यकताका लागि काठमाडौँ आवतजावत गर्ने स्थानीय बासिन्दालाई ठूलो सहजता प्रदान गर्नेछ ।
यात्रालाई अझ सहज बनाउन अन्य सुविधाहरू पनि थपिएका छन् ।

अर्घाखाँचीदेखि काठमाडौँसम्म यात्रा गर्ने सबै यात्रुलाई निःशुल्क पानी उपलब्ध गराइनेछ । साथै, प्रत्येक महिना लक्की ड्रमार्फत एक जना यात्रुलाई आकर्षक उपहार प्रदान गरिने व्यवस्था गरिएको सहकारीका कोषाध्यक्ष केसीको भनाइ छ , जसमा सहभागी हुन टिकट अनिवार्य गरिएको छ ।

सहकारीका शेयर सदस्यहरूलाई टिकटमा विशेष ७ प्रतिशत छुटको व्यवस्था गरिएको छ, जसले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पु¥याउने देखिन्छ । त्यस्तै, सदस्यहरूले कुनै पनि डकुमेन्ट अर्थात कागजात ढुवानी गर्दा शुल्क नलाग्ने सुविधा पनि उपलब्ध गराइएको छ । यसले साना व्यवसायी र सेवाग्राहीहरूलाई थप राहत मिल्ने अपेक्षा गरिएको छ ।

सुरक्षाको पक्षमा पनि विशेष ध्यान दिइएको छ । सवारीसाधनमा सीसीटीभी क्यामेरा र जीपीएस प्रणाली जडान गरिएको छ, जसले यात्रुको सुरक्षासँगै सवारीको निगरानीलाई प्रभावकारी बनाउनेछ । साथै, गाडीभित्र निःशुल्क वाइफाइ सेवाको व्यवस्था गरिएकाले यात्रुहरूले यात्रा अवधिभर इन्टरनेटको सुविधा पनि उपभोग गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?