Butwal Today

वैशाख १४ देखि विद्यालय सञ्चालन गर्ने ७ पालिका प्रमुखको निर्णय

१२ बैशाख २०८३, शनिबार
अ+
अ-

नवलपरासी (पश्चिम) ।  नवलपरासी (पश्चिम)  का सात स्थानीय तहले नयाँ शैक्षिक सत्रअन्तर्गत वैशाख १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन्।

शुक्रबार बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगौती यादवको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा जिल्लाका सातै पालिकाका प्रमुखहरूको सहभागिता रहेको थियो। हालको शैक्षिक अवस्थाले शिक्षक, कर्मचारी र विद्यार्थीमा पारेको प्रभाव तथा देखिएको अन्योललाई मध्यनजर गर्दै विद्यालय सञ्चालन गर्ने एकरूपताका लागि निर्णय गरिएको जनाइएको छ। सरकारले वैशाख २३ गतेबाट पठनपाठन गराउन निर्देशन दिएको छ ।

बैठकले विद्यालय सञ्चालनसँगै अन्य महत्त्वपूर्ण चार विषयमा पनि निर्णय गरेको छ। पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिका कारण विकास निर्माणमा परेको असरलाई ध्यानमा राख्दै जिल्ला दररेट वृद्धि गर्न जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ।

त्यस्तै, एक सय रुपैयाँभन्दा बढीका सामान आयातमा गरिएको कडाइले दुई देशबिचको आर्थिक, सामाजिक, सांस्कृतिक तथा व्यवहारिक पक्षमा प्रत्यक्ष असर परेको भन्दै उक्त नीति पुनरावलोकन गर्न सङ्घीय सरकारलाई आग्रह गर्ने निर्णय भएको छ।

यसै गरी, जिल्लामा मलखाद अभाव देखिएकाले यसको आपूर्ति सहज बनाउन कोटा वृद्धि गर्न प्रदेश सरकारसँग माग गर्ने निर्णय पनि बैठकले गरेको बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए।

बैठकमा सुनवल नगर प्रमुख विमला अर्याल, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद थारु, पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु गुप्ता, रामग्राम नगर प्रमुख धनपत यादव र सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायलगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?