Butwal Today

सीमामा ‘कडाइको हतियार’ नेपाली रोके, बजार सुन्निए

१२ बैशाख २०८३, शनिबार
अ+
अ-

चन्द्रौटा (कपिलवस्तु) । बिहानै झोला बोकेर सीमापारि जाने बानी यहाँका धेरैका लागि नयाँ होइन । सस्तो तरकारी, लत्ताकपडा वा दैनिक उपभोग्य सामग्री किन्न भारत पुग्ने यो दैनिकी वर्षौँदेखि चल्दै आएको थियो ।

तर अहिले त्यो दृश्य फेरिएको छ । नाका उस्तै छन्, बाटो उस्तै छ–तर भीड हराएको छ । सीमावर्ती नाकाहरूमा पछिल्लो समय कडाइ बढाइएपछि सर्वसाधारणको दैनिक जीवन प्रभावित बनेको छ ।

सानो किनमेलमै भन्सार तिर्नुपर्ने व्यवस्थाले स्थानीयमा असन्तुष्टि बढाएको छ । लुम्बिनी प्रदेशको एक महत्त्वपूर्ण कपिलवस्तुको कृष्णनगर भन्सार नाकामा अहिले सुरक्षाकर्मीको निगरानी कडा बनाइएको छ ।

भारतबाट फर्किने सर्वसाधारणको झोला जाँच तीव्र पारिएको छ भने सानो परिमाणका सामानमा पनि भन्सार तिर्नुपर्ने बाध्यताले दैनिक किनमेल प्रभावित भएको देखिन्छ ।

यसले गर्दा सर्वसाधारण र जाँच टोलीबिच बेलाबेला विवादसमेत देखिने गरेको छ । दैनिक उपभोगका सामान किन्न सीमापारि जाने स्थानीयहरू अहिले भने झोलामै जाँच र रोकिनुपर्ने अवस्थाले हैरानीमा परेका छन् ।

पछिल्लो केही समय यता भन्सार नाका कडाइसँगै किनमेलका लागि सीमापारि जानेहरूको सङ्ख्या घट्दै गएको छ भने भारतीय बजारहरू समेत सुनसान बन्दै गएका छन् । पहिले नेपाली ग्राहकले भरिभराउ हुने बजारहरू अहिले खालीजस्तै देखिन थालेका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका–१, शिवपुरबाट किनमेलका लागि आउने राजु केसीले नियम आवश्यक भए पनि व्यावहारिक हुनुपर्ने बताए । नियम र कडाइ आवश्यक भए पनि त्यसको कार्यान्वयन व्यावहारिक हुनुपर्ने धारणा राखे । “सुरक्षाका लागि नियम चाहिन्छ, तर सर्वसाधारणलाई सहज हुने गरी लागू गर्नुपर्छ”– उनले भने । स्थानीय वासीहरू पनि अत्यधिक कडाइले दैनिक जीवन प्रभावित भएको गुनासो गर्दै आएका छन् ।

खुनुवा नाकासहित अन्य सीमावर्ती क्षेत्रमा पनि सुरक्षाकर्मीको उपस्थिति बाक्लिएको छ । यस्तै, स्थानीय रामुद्दन भरले अवैध आयात रोक्ने उद्देश्यसहित गरिएको कडाइले साना उपभोक्तासमेत प्रत्यक्ष रूपमा प्रभावित भएका बताए । तर भन्सार कार्यालय भने यो व्यवस्था पहिले देखि नै लागु भएको तर व्यवहारिक रूपमा छोडिँदै आएको उनी बताउँछन् ।

सीमावर्ती भारतीय बजारका व्यापारी सञ्जय अग्रवालले नेपाली ग्राहक घट्दा व्यापारमा ठुलो असर परेको बताए । “नेपाली ग्राहक नै हाम्रो मुख्य आधार थिए, अहिले त पसल खोल्नु पनि घाटाजस्तै भएको छ”, उनले भने । अत्यधिक कडाइले दैनिक उपभोग्य सामग्री किन्नसमेत समस्या भएको बताए ।

उनका अनुसार नजिकै सस्तो पाइने सामान लिन जान पनि झन्झट भयो, यसले खर्च बढाएको छ । सीमावर्ती नागरिकका लागि सस्तोमा सामान किनमेल गर्नु दैनिकी जस्तै बनेको छ । नेपालभन्दा सस्तो पाइने भएकाले उनीहरू सीमापारि निर्भर रहँदै आएका छन् । तर अहिलेको कडाइले उनीहरूको जीवनशैलीमै असर पार्न थालेको छ । सानो किनमेलमै भन्सार तिर्नुपर्ने बाध्यताले दैनिक खर्चसमेत बढ्न थालेको स्थानीय बताउँछन् ।

यता कृष्णनगर भन्सार कार्यालयका भन्सार अधिकृत (सूचना अधिकारी) मयंक कुमार कर्णले नियम पुरानो कार्यान्वयन नभएको बताए । नयाँ वर्षबाट निकै कडाइका साथ कार्यान्वयन तीव्रता दिएको उनले जनाए । उनका अनुसार भन्सार कडाइले राजस्व चुहावट नियन्त्रणमा टेवा पु¥याउने अपेक्षा गरिए पनि यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिक जीवनमा परेको गुनासो बढ्दो छ ।

अबको चुनौती भनेको कडा नियमलाई मात्र लागू गर्नु होइन, त्यसलाई जनजीवनसँग मेल खाने गरी कार्यान्वयन गर्नु हो । सीमावर्ती नागरिकको दैनिकीलाई सहज बनाउँदै राजस्व नियन्त्रण गर्ने सन्तुलित र व्यावहारिक उपायतर्फ ध्यान दिनु आवश्यक देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायम प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै कडाइ गरिएको स्पष्ट पारे । “अहिलेको अवस्था अनुसार कडाइ आवश्यक छ, तर जनजीवनमा परेको असरलाई पनि ध्यानमा राख्दै आवश्यक समायोजन गरिनेछ,” उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?