© 2026
सल्यान । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा निर्माण सम्पन्न भै सञ्चालनमा समेत आइसकेको आधुनिक बसपार्क यही बुधबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ ।
शारदा नगरपालिकाको गौरवको आयोजनाको रूपमा रहेको यस बसपार्क उद्घाटनका दिन नगरपालिकाभर सार्वजनिक बिदा समेत दिइने भएको छ ।
नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा सोमबार सम्पन्न कार्यपालिकाको ६४ औँ बैठकले आधुनिक बसपार्क उद्घाटन कार्यक्रमकै अवसरमा सो दिन शारदा नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गत पुसदेखि नै बसपार्क सञ्चालनमा आइसकेको छ । अहिले साना, ठुला, लामो तथा छोटो दूरीका सबै किसिमका सवारीसाधनहरू अब बसपार्क भित्रबाटै सञ्चालन हुने गरेका छन् ।
यसअघि बजार क्षेत्रका सडक र फुटपाथमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका पसल तथा व्यवसायलाई समेत बसपार्क भित्रै व्यवस्थापन गरिएको छ ।
बसपार्क सञ्चालनको सम्पूर्ण जिम्मेवारी टेन्डर प्रक्रिया मार्फत जय बागेश्वरी कन्स्ट्रक्सन एन्ड सप्लायर्स, शारदा नगरपालिका–२ ले पाएको छ । सम्झौता अनुसार उक्त कम्पनीले शारदा नगरपालिकालाई वार्षिक करिब ५२ लाख रुपैयाँ राजस्व बुझाउने गरी सम्झौता भएको र बसपार्क सञ्चालनले नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि हुनुका साथै सेवाग्राहीलाई समेत सहजता प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ बाट निर्माण सुरु गरिएको यो बसपार्क करिब सात हजार वर्ग मिटर क्षेत्र सरकारीप्रति ऐलानीमा फैलिएको छ । करिब दुई वर्षको अवधिमा निर्माण सम्पन्न भए पनि विभिन्न साना प्राविधिक तथा प्रशासनिक कारणले गत आर्थिक वर्षको अन्त्यतिर निर्माण सम्पन्न भइसके पनि सञ्चालनमा आउन ढिलाइ भएको थियो ।
बसपार्क क्षेत्रमा दुई वटा १७–१७ कोठाका व्यापारिक महल छन् । जस अन्तर्गत ३५ वटा व्यापारिक स्टल र ३४ वटा छुट्टाछुट्टै सटर छन् ।
व्यापारिक भवनसँगै सार्वजनिक शौचालय, गेट, पार्किङ, फुटपाथ, नाला लगायतका संरचना तयार गरिएको छ । बसपार्क नेपाल सरकार, कर्णाली प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले निर्माण गरेको हो ।