© 2026
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट मेसु पदमा डा. विष्णु गौतम नियुक्त भएका छन्। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
स्वास्थ्य मन्त्री खेम सारुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले अन्तरिम व्यवस्थाका रूपमा डा.गौतमलाई मेसुको जिम्मेवारी दिइएको जानकारी दिए। उनका अनुसार अस्पतालको व्यवस्थापन सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो।
डा.गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस ९जहेस० समूह अन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुन्। लामो समयदेखि सरकारी स्वास्थ्य सेवामा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हालेको अनुभवका आधारमा उनलाई मेसुमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
यस क्षेत्रकै सबैभन्दा ठुलो लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक करिब २ हजार ५ सयदेखि ३ हजारसम्म बिरामीले सेवा लिने गरेका छन्। यसअघि मेसुको जिम्मेवारी डा.इन्द्र ढकालले सम्हाल्दै आएका थिए। तर, उनी आफ्नो दरबन्दी रहेको मधेस प्रदेश फर्किएपछि उक्त पद रिक्त भएको थियो ।