Butwal Today

इन्धन मूल्य, भाडा समायोजन र ओभर लोड नियन्त्रणमा ध्यान दिन व्यवसायीको माग

८ बैशाख २०८३, मंगलवार
अ+
अ-

भैरहवा । लुम्बिनी ट्रक यातायात व्यवसाय सङ्घको आयोजनामा मंगलबार सिद्धार्थनगर–८ मा आयोजित व्यवसायी भेला कार्यक्रममा ट्रक व्यवसायीहरूले वर्तमान सङ्कट समाधानका लागि सरकारसँग ठोस पहलको माग गरेका छन्।

भेलामा विशेष गरी इन्धनको मूल्य वृद्धि, भाडा समायोजन र ओभर लोड नियन्त्रणका विषयमा व्यवसायीहरूले कडा आवाज उठाएका छन्।

सङ्घका सदस्य तथा ट्रक व्यवसाय शिव सापकोटाले नेपालमा डिजेलको मूल्य अत्यधिक महँगो (करिब २३५ रुपैयाँ) हुँदा ट्रक व्यवसाय नै धराशायी हुने अवस्थामा पुगेको बताएका छन्।

उनका अनुसार हालको ढुवानी भाडाले इन्धन खर्च मात्र धान्ने अवस्था रहेको छ भने बैङ्कको किस्ता र चालकको तलब व्यवस्थापन गर्न समेत कठिन भइरहेको छ। त्यसैले इन्धन मूल्य अनुसार भाडा समायोजन गर्न सरकारसँग उनको प्रमुख माग रहेको छ।

भेलामा व्यवसायीहरूले भारतीय ट्रकहरूको अनियन्त्रित प्रवेशलाई पनि गम्भीर समस्या रूपमा उठाएका छन्।

भारतबाट सिधै पोखरा, बागलुङ र काठमाडौँसम्म ढुवानी हुँदा नेपाली ट्रक व्यवसायीहरू प्रतिस्पर्धामा टिक्न नसकेको गुनासो गरिएको छ। व्यवसायीहरूले भन्सार नाकाबाटै विदेशी गाडी नियन्त्रण गरी नेपाली गाडीलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्।

ओभर लोड नियन्त्रण पनि व्यवसायीहरूको मुख्य मागका रूपमा उठेको छ। नेपाली ट्रकहरूलाई कडाइका साथ नियमन गरिए पनि विदेशी ट्रकहरूले ५०–६० टनसम्म सामान बोकेर निर्बाध रूपमा सञ्चालन भइरहेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।

उनीहरूले धर्मकाँटाबाटै कडाइका साथ जाँच गरी क्षमताभन्दा बढी सामान बोक्ने सवारीलाई रोक्नुपर्ने बताएका छन्। यसले बुटवल–नारायणघाट सडक खण्ड लगायतका पूर्वाधार जोगाउन पनि मद्दत पुग्ने उनीहरूको भनाइ छ।

ट्रक चालक तथा व्यवसायी मिकेन चौलागाईंले पनि डिजेलको मूल्य बढ्दा अन्य सवारीको भाडा बढे पनि ट्रक भाडा नबढाइएकोप्रति असन्तुष्टि जनाउँदै तत्काल भाडा वृद्धि गर्नुपर्ने माग गरेका छन्। उनले सम्बन्धित निकाय, महासङ्घ र सरकारलाई यस विषयमा ध्यान दिन आग्रह गरेका छन्।

सङ्घका अध्यक्ष रुमाखर गौतमले हालको अवस्थामा भाडा अत्यन्त न्यून रहेको र इन्धन तथा गाडीका पाटपुर्जाहरूको मूल्य अत्यधिक बढेकाले सवारी सञ्चालन गर्नै नसक्ने अवस्था आएको बताए। उनले भाडा समायोजन नभएसम्म व्यवसायी टिक्न नसक्ने स्पष्ट पार्दै ओभर लोड नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

उनका अनुसार ४० टन क्षमताको सवारीमा १०० टनसम्म सामान बोक्ने प्रवृत्तिले बजार बिग्रिएको छ, जसलाई धर्मकाँटाबाटै कडाइका साथ रोक्नुपर्ने आवश्यकता छ।

त्यस्तै, उनले सन् १९५० को सन्धिको आडमा भारतीय गाडीहरूको निर्बाध प्रवेशले नेपाली व्यवसायीहरू मर्कामा परेको उल्लेख गर्दै भन्सार बिन्दुबाटै विदेशी गाडीलाई नियमन गरी स्वदेशी गाडीलाई प्राथमिकता दिनुपर्ने माग गरे।

ओभरलोडका कारण बुटवल–नारायणघाट सडक खण्ड जस्ता अर्बौँको पूर्वाधार क्षतिग्रस्त हुने जोखिम बढेको भन्दै उनले सरकारलाई यसतर्फ गम्भीर हुन आग्रह गरे।

भेलामा सहभागी व्यवसायीहरूले आफ्ना मागहरू शीघ्र सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। विशेष गरी भैरहवास्थित सुनौली नाकामा गाडी तेस्र्याएर ‘की–डाउन’ आन्दोलन गर्ने तथा देशभर ढुवानी ठप्प पार्ने चेतावनी दिइएको छ।

व्यवसायीहरूले इन्धन मूल्य अनुसार भाडा समायोजन, ओभर लोड नियन्त्रणमा कडाइ र विदेशी गाडीको व्यवस्थापन नगरेसम्म ट्रक व्यवसाय टिकाउन कठिन हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?