© 2026
अछाम । कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा घाँस काट्न आफ्ना दुई छोराहरू दिलीप र नरेशलाई लिएर कर्णाली नदीपारि सुर्खेतको पञ्चपुरी क्षेत्र पुगेका थिए ।
आफ्नै काठे डुङ्गा लिएर घाँस काट्न गएका उनीहरूमध्ये जेठो छोरा १४ वर्षीय दिलीपले आफूभन्दा पहिले पालैपालो बुबा र भाइलाई पारि पठाएका थिए । अन्तिममा आफू तरे । नदी तरिसकेपछि पहलसिंहले कर्णाली नदीमा जाल थापे। त्यसपछि तीनै जनाले घाँस काटे । तीन भारी घाँस काटिसकेपछि साँझपख जेठो छोरा दिलीपले डुङ्गामा पालैपालो तीनै भारी घाँस तारे।
घाँस तारेर बुबा र भाइ लिन दिलीप डुङ्गा लिएर पुनः कर्णाली पारि पुगे। साँझ झमक्क परिसकेको थियो । दिलीपले बुबालाई पालैपालो डुङ्गामा पारी पुर्याउने प्रस्ताव गरे । तर पहलसिंहले दिलीपलाई भने, “छोरा घाँस तार्दातार्दै तिमीलाई थकाइ पनि लागेको छ । रात परिसक्यो सबै जनासँगै जाऔँ”, दिलीपले ‘हुन्न त्यसरी नजाऊँ’ पनि भने, तर बुबाले मानेनन् ।
नभन्दै नदीको बिच भागमा पुगेपछि डुङ्गा पल्टियो । डुङ्गा पल्टिने बित्तिकै दिलीप पौडी खेल्दै जसोतसो नदी किनारमा निस्किए । रुँदै, गुहार्दै वरपरका मान्छेलाई खबर गरे । डुङ्गा पल्टिएर उल्टो भएपछि ११ वर्षका भाइ नरेश डु¬ङ्गामै च्यापिएका थिए । पहलसिंहले कान्छो नरेशलाई बचाउन च्यापिएका ठाउँबाट निकालेर पिठ्युँमा बोके। अनि नदी पार गर्न पौडिन थाले । नदी पार गर्ने बेलामा पानीको बहावसँगै दुवै जना बेपत्ता भए । त्यस रातभरि परिवार र स्थानीय खोजीमा जुटे । कतै फेला परेनन् ।
सशस्त्र प्रहरी बल खप्तड गुल्मको विपद् उद्धार टोली, सुर्खेतबाट आएको गोताखोरको टोली, स्थानीय बासिन्दा र नेपाल प्रहरीको संयुक्त प्रयासमा निरन्तर खोजी गर्दा कर्णाली नदीको खोँचमा वैशाख ५ गते छोरा नरेश र ६ गते बुबा पहलसिंहको शव फेला पर्यो ।
बाबुछोराकै निधनपछि अहिले पहलसिंहको परिवार मात्रै होइन, पूरै गाउँ शोकमा छ । पहलसिंहको परिवारको मुख्य पेसा कृषि थियो । कर्णाली नदी किनारमा बसोबास गर्ने भएकाले उनीहरूको दैनिक जीवनयापन नदीमा माछा मार्ने र पशुपालन थियो । जेठो दिलीप वसुन्धरा मावि थालपाटामा कक्षा ८ मा अध्ययनरत छन् ।
कान्छो नरेश भने कक्षा ४ मा अध्ययनरत थिए । श्रीमान् र नाबालक छोराको निधनपछि पहलसिंहकी ३३ वर्षीया श्रीमती शान्तिकुमारी माझी (बुढा) अझै राम्रोसँग होसमा आएकी छैनन् । श्रीमान् को भरमा चलेको परिवारमा श्रीमान् नै नभएपछि कसरी जीविका चलाउने भन्ने चिन्ता थपिएको छ ।
पुल नहुँदा वारपार गर्न जोखिम
यस स्थानमा हालसम्म एउटा झोलुङ्गे पुलसम्म छैन । जसका कारण घरायसी कामकाजकै लागि वारपार गर्न ज्यान जोखिममा हिँड्नुपर्ने बाध्यता छ । कर्णाली नदीले घेरिएको यो ठाउँमा झोलुङ्गे पुल निर्माण गरिदिन पटक पटक आवाज उठाउँदा पनि कुनै सुनुवाइ नभएको स्थानीय दुर्गबहादुर बिसीले गुनासो गरे ।
अछामतर्फ बढी सुक्खा क्षेत्र भएकाले घाँस ल्याउन सुर्खेततर्फ जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । “घाँसको भारी कर्णाली पार गर्दै ल्याउनुपर्छ, कतिखेर के हुन्छ थाहै हुँदैन”, उनले भने । रासस