© २०२३
देउखुरी (दाङ), १ माघ ।
आमसञ्चारको समान विकास र सम्वद्र्धन हुने गरी राज्यका तीनै तहका सरकारलाई जवाफदेही बन्न प्रेस चौतारी लुम्बिनी प्रदेश समितिले आग्रह गरेको छ । प्रदेशको राजधानी देउखुरीमा सम्पन्न प्रेस चौतारी लुम्बिनी प्रदेश समितिको पूर्ण बैठकपछि घोषणापत्र जारी गर्दै समृद्ध लुम्बिनी ः आत्मनिर्भर प्रदेशको लक्ष्य र संकल्पलाई साकार पार्न संगठनले आमसञ्चारको क्षेत्रबाट निर्वाह गरेको भूमिकाको कदर हुनुपर्ने जनाएको छ ।
आमसञ्चारको भूुमिका मुलुकको समृद्धि र राजनीतिक स्थायित्व कायम हुनेतर्फ केन्द्रित गर्नका लागि चौतारीले प्रतिबद्धता व्यक्त गरेको छ । प्रेस तथा आमसञ्चारसँग सम्बन्धित कानुन निर्माण गर्दा प्रेस चौतारीसँग समन्वय र सहकार्य गर्न आग्रह गरिएको छ ।
कानुन सम्मत ढंगले सञ्चालित आमसञ्चारका माध्यमहरुको संरक्षण र संवद्र्धनका लागि तीनै तहका सरकारहरुलाई विशेष प्याकेज सहितको व्यवस्था गर्नका लागि अनुरोध गर्दै लोककल्याणकारी विज्ञापनलाई नियमित र समानुपातिक ढंगले वितरणका लागि घोषणापत्रमार्फत आग्रह गरिएको छ ।
श्रमजीवी पत्रकारहरुको हकहित र पेशागत सुरक्षाको ग्यारेन्टी हुनेगरी विशेष व्यवस्था मिलाउन छातासंगठन नेपाल पत्रकार महासंघ र सम्बद्ध निकायहरूलाई प्रदेश समितिले अनुरोध गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले देउखुरी उपत्यकामा राजधानी कार्यान्वयनलाई अघि बढाएकाले स्थायी सरकार सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार निर्माण गर्न प्रदेश समितिले अनुरोध गरेको छ ।
यस्तै प्रेस चौतारी प्रदेश समितिले नेपाल पत्रकार महासंघको सदस्यता वितरण एवम् स्थानान्तरणमा नियम विपरीत नगर्न र राजनीतिक आग्रह पूर्वाग्रह नराख्न पत्रकार महासंघको ध्यानाकर्षण गराएको अध्यक्ष शोभाखर पन्थीले जानकारी दिए ।
यस्तै बैठकले प्रेस चौतारी स्थापना दिवस माघ २२ गते विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ । बैठकले भरत केसी, हिमबहादुर जिसी लेकाली, सम्झना शर्मा, केशव पराजुली, गणेश जिसी, यादव खनाललाई सल्लाहकारमा चयन गरेको छ ।
बैठकले रिक्त रहेको सचिव पदमा हरि अधिकारी, माधव न्यौपाने, रञ्जिता अधिकारी र हुमहरी भट्टराईलाई चयन गरेको छ । जिल्लामा निष्कृय रहेका कमिटिहरुलाई फागुन मसान्त भित्र पुनर्गठन गर्ने, नेपाल पत्रकार महासंघलाई फर्जी सदस्य भर्ती गरी प्रदेशका अधिकांश जिल्लामा बदनाम गर्ने काम भएकाले सचेतनापूर्वक सही बाटोमा ल्याउन र महासंघको गरिमा बचाउन बिशेष पहल कदमी लिने निर्णय समेत बैठकले गरेको छ ।
बैठकमा बोल्दै प्रेस चौतारी नेपाल केन्द्रीय समितिका उपाध्यक्ष सविन प्रियासनले पत्रकारको व्यावसायिक क्षमता अभिवृद्धिका लागि प्रेस चौतारीले प्रदेशभरी अभियान सञ्चालन गर्ने बताए । प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज प्रदिप आचार्यले मुलुकको स्थायित्व र समृद्धिका लागि प्रेस चौतारीका सदस्यहरुले कलम चलाउनुपर्नेमा जोड दिए ।
प्रेस चौतारी प्रदेश समितिका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव निरा गौतम (निरु), प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, प्रेस चौतारी लुम्बिनी प्रदेश समितिका उपाध्यक्षद्वय दशरथ घिमिरे, लक्ष्मी तिमिल्सेना, विभिन्न जिल्लाका अध्यक्षहरुलगायतले बोलेका थिए ।