Butwal Today

मृगौला पीडित केसीलाई गुल्मी सेवा समाज कतारद्वारा आर्थिक सहयोग

३० चैत्र २०८२, सोमबार
अ+
अ-

कतार ।

कतारदेखि गृह जिल्ला गुल्मी सम्म सामाजिक सेवामा सक्रिय रहेको गुल्मी सेवा समाज कतारले जिल्लामा एक मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । समाजले जिल्लाको मुसिकोट नगरपालिका–१ अरेवाकी ४६ वर्षीय हिरा केसीलाई उपचार सहयोग स्वरूप ३६ हजार रुपैयाँ प्रदान गरेको हो ।

लामो समयदेखि दुवै मिर्गौलामा समस्या देखिएपछि उपचाररत केसीको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गरिएको समाजले जनाएको छ । समाजका पूर्व कार्यसमिति सदस्य विमल सिंह कार्कीले पीडितका श्रीमान् गणेश केसीलाई उक्त रकम हस्तान्तरण गर्दै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरे ।

पीडितका श्रीमान् गणेश केसीले पारिवारिक अवस्था निकै कमजोर रहेको उल्लेख गर्दै यस्तो कठिन समयमा साथ दिने गुल्मी सेवा समाज कतारप्रति आभार व्यक्त गरे । साथै, श्रीमतीको थप उपचारका लागि सहयोग आवश्यक रहेको बताउँदै इच्छुक सहयोगीहरूलाई साइन रेसुङ्गा बैङ्कको खाता नम्बर 00101900085463000001 मा सहयोग गरिदिन आग्रह गरेका छन् ।

“गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नारासहित कतारमा सन् २००३ मा स्थापना भएको संस्थाले कतार तथा गृह जिल्ला गुल्मीमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?