Butwal Today

राजस्वमा ‘मिश्रित’ तिलोत्तमा: केहीमा उत्साह, धेरैमा निराशा

२९ चैत्र २०८२, आइतबार
अ+
अ-

बुटवल  । तिलोत्तमा नगरपालिकाको पछिल्ला तीन आर्थिक वर्षको आन्तरिक आय विवरणले राजस्व सङ्कलनमा मिश्रित अवस्था देखाएको छ ।

लक्ष्य निर्धारणमा महत्त्वाकाङ्क्षा बढ्दै गएको देखिए पनि उपलब्धि भने सोही अनुपातमा हासिल हुन सकेको छैन । आर्थिक वर्ष ०८१/८२ मा ३२ करोड ६६ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा २९ करोड ४१ लाख २० हजार ४ सय ८५ रुपैयाँ मात्र सङ्कलन भएको छ, अर्थात् करिब १ करोड १ लाख ७६ हजार रुपैयाँ लक्ष्य भन्दा कम सङ्कलन भएको तथाङ्गकले देखाएको छ ।

यसअघि तिलोत्तमा नगर पालिकाले आर्थिक वर्ष २०७९/८० मा कुल २९ करोड ४९ लाख ६१ हजार ७ सय १५ रुपैयाँ र ०८०/८१ मा ३० करोड ४२ लाख ९७ हजार ४ सय ९ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यो नगरपालिकामा राजस्वमा सामान्य वृद्धि देखिको छ ।

नगरपालिकाको मुख्य आम्दानीका स्रोतहरूमा नदीजन्य पदार्थको कर, सम्पत्ति कर, घरजग्गा बहाल कर, सिफारिस कर, व्यवसाय कर सहित प्रमुख रहेका छन् । त्यसै गरी नगरपालिकाले आर्थिक वर्ष ०८१/८२ मा सम्पत्ति करबाट ५ करोड ८१ लाख ९५ हजार ३८२ रुपैयाँ सङ्कलन भएको छ, जुन लक्ष्यभन्दा करिब १२ लाख रुपैयाँ बढी हो ।

तर घरजग्गा बहाल करमा लक्ष्य ४ करोड रुपैयाँ राखिएकोमा ३ करोड ८८ लाख ७४ हजार ४ सय ६३ रुपैयाँ मात्र सङ्कलन भएको छ, जसले करिब २० लाख रुपैयाँ कमी देखाउँछ ।

व्यवसाय करबाट ३ करोड रुपैयाँ लक्ष्य राखिएकोमा २ करोड ६३ लाख १८ हजार रुपैयाँ सङ्कलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि भए पनि लक्ष्यभन्दा अझै करिब ३७ लाख रुपैयाँ कम हो ।

सेवा शुल्कतर्फ सकारात्मक सङ्केत देखिएका छन् । नक्सा पास दस्तुरबाट २ करोड ८० लाख ७३ हजार रुपैयाँ र सिफारिस तथा अन्य सेवाबाट ४ करोड ८९ लाख ६८ हजार रुपैयाँ सङ्कलन भएको छ । यसले सेवा प्रवाहसँगै राजस्व वृद्धि जोडिएको सङ्केत गर्छ ।

तर, अन्य आय शीर्षकहरूमा भने अस्थिरता देखिन्छ । प्राकृतिक स्रोतसम्बन्धी आयमा लक्ष्य ८ करोड रुपैयाँ राखिएकोमा ४ करोड ८३ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ, जसले करिब १ करोड ५८ लाख रुपैयाँ कमी देखाउँछ ।

त्यसै गरी नगरपालिकाले यो आर्थिक वर्षमा साधन कर (साना सवारी ) ५ लाख ४१ हजार ४ सय रुपियाँ सङ्कलन गरेको छ । कवाड ठेक्काबाट २७ लाख ७८ हजार रुपियाँ कर सङ्कलन गरेको छ ।

अरू बहाल विटौरी कर (अव्यवस्थित बसोबास शुल्क),बहाल बिटौरी कर (हाटबजार बैठकी शुल्क) सेवा शुल्क दस्तूर ‐नक्सा पास, दस्तुर सिफारिस/निवेदन/घरबाटो प्रमाणित दस्तुर, घटना दर्ता विलम्ब दस्तुर, अन्य दस्तुर (विविध आय) विविध आय) नदिजन्य पदार्थ नियमन कार्यबाट प्राप्त आय, पूर्वाधार उपयोग कर, न्यायिक दस्तुर, माछा पोखरी लिज, धरौटी जफत, दण्ड जरिवानाबाट प्राप्त आम्दानी, सरकारी सम्पत्तिको बहाल आम्दानी, बेरुजु दाखिला, बाँडफाँडबाट प्राप्त हुने ६० प्रतिशत मनोरञ्जन कर, बाँडफाँडबाट प्राप्त हुने ६० प्रतिशत विज्ञापन कर लगायतका क्षेत्रलाई कर सङ्कलनका क्षेत्रको रूपमा राखेको छ । तर पनि यो आर्थिक वर्षमा माछा पोखरी लिज र सरकारी सम्पत्ति बहाल आम्दानी करमा राजस्व शून्य देखिएको छ ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणका अनुसार राजस्व सङ्कलनमा देखिएको उतारचढाव सुधार प्रक्रियाकै हिस्सा हो । ‘हामीले कर प्रणालीलाई व्यवस्थित गर्दै दायरा विस्तार गरेका छौँ, जति धेरै कर सङ्कलन गर्न सक्छौ हामीले नगरको बिस्तारलाई पनि यसले ठुलो सहयोग पु¥याउन सहयोग गर्छ’–उनले भने–‘त्यसैले करको दायरामा सबै आउनुको विकल्प छैन ।

नगर बासीले आफूले तिरेको करबाट नगरलाई नै समृद्धिको बाटो तर्फ लैजाने भएकाले सबैले नगर विकासमा योगदान गर्नुपर्छ ।’ केही क्षेत्रमा अपेक्षित उपलब्धि नआए पनि दीर्घकालीन रूपमा नगरलाई आत्मनिर्भर बनाउने आधारहरू तयार भइरहेका उनले बताए ।

प्रमुख खाँणले सुविधाको हिसाबले तिलोत्तमा नगरपालिकामा उद्योग, व्यापार, व्यवसाय समेत दिनानुदिन बढ्दै गइरहेको कारणले दिगो विकासलाई व्यवस्थित गर्न नगर बासीको सहभागितालाई प्रभावकारी बनाउन कर तथा राजश्व सङ्कलनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आफूहरू लागि रहेको बताए ।

नगरपालिकाले नदीजन्य पदार्थबाट सोचेजस्तो र बाहिर देखिए जस्तो कर सङ्कलन गर्न प्राविधिक कारणले नसकेको बताए । ‘नदीमा धेरै पुलहरू छन् त्यसको पांचसय मिटर वरिपरिबाट नदीजन्य पदार्थ निकाल्न नपाइने कानुन छ यसले गर्दा नगरले सोचे जस्तो राजस्व सङ्कलन गर्न सकेको छैन’–उनले भने–‘त्योसँगै अरू विभिन्न क्षेत्र पनि यस्तै छन् जो देखिए पनि नगरले टेन्डर गर्दा पनि व्यवसायीले चासो नदिँदा नगरको आम्दानी कम हुन गएको छ ।’ करका क्षेत्रहरू बढाउन पहल गरिरहेको हुँदा नगर विकासमा थप योगदान पु¥याउने विश्वास नगर प्रमुख खाँणको भनाइ छ ।

राजस्व शाखा प्रमुख इन्द्रदत्त सापकोटा भने करदाताको व्यवहार र आर्थिक अवस्थालाई राजस्व सङ्कलनको उतारचढावको मुख्य कारण मान्छन् । ‘केही क्षेत्र अझै पूर्ण रूपमा करको दायरामा आएका छैनन्’–उनी भन्छन्–‘आर्थिक गतिविधिमा आएको मन्दीले पनि राजस्व सङ्कलनमा असर पारेको छ ।’ उनका अनुसार अब डिजिटल प्रणालीमार्फत कर सङ्कलनलाई थप प्रभावकारी बनाउने योजना अघि बढाइएको छ ।

शाखा प्रमुख सापकोटाले नगरपालिकाको वडा नं. ६, ५ र ३ बाट सबै भन्दा धेरै राजस्व सङ्कलन हुने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?