© २०२३
कपिलवस्तु, २९ पुस ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर २ का ९० गरिब वबपन्न परिवारका सदस्यलाई न्यानो लुगा वितरण गरिएको छ । कालापत्थर गार्मेन्ट्स काठमाडौंको सहयोगमा शुभारम्भ नेपालले गरिब र बिपन्न परिवारलाई न्यानो लुुगा वितरण गरेको हो ।
उनीहरुलाई शुभारम्भ नेपालकी अध्यक्ष शोभादेवी भण्डारी, वडा नम्बर २ का अध्यक्ष मोहम्मद हुसेन मुसलमान, काँग्रेस नेता तथा समाजसेवी लोकनाथ शर्मा र समाजसेवी हिन्दराज चौधरी लगायतले ज्याकेट, टोपी र मोजा लगायतका न्यानो लुगा वितरण गरेका थिए । बढ्दो शितलहर र जाडोले समस्यामा परेका बेला न्यानो लुगा पाउँदा खुसी लागेको स्थानीय राजाराम पासीले बताए । गरिब र विपन्न परिवारका सदस्यलाई न्यानो लुगा दिएर खुसी दिएको अर्की स्थानीय महरुन निसाले बताईन् ।
संस्थाको पहलमा गरिब र विपन्नका लागि न्यानो लुगा वितरण गरिदा गरिब परिवारलाई राहत मिलेको समाजसेवी तुफेल मुसलमानको भनाई थियो । संस्थाले आफ्नो वडामा रहेका अति गरिब र विपन्नलाई न्यानो लुगा वितरण गरेर सहयोग गरेकोमा वडा अध्यक्ष मोहम्मद हुसेन मुसलमानले संस्थालाई धन्यवाद दिए । बढ्दो शितलहरका कारण समस्यामा रहेका गरिब र विपन्न परिवारलाई लक्षित गरी संस्थाको अगुवाईमा न्यानो कपडा वितरण गरिएको शुभारम्भ नेपालकी अध्यक्ष शोभादेवी भण्डारीले बताईन् । वडा नम्बर २ मा ९० परिवारका सदस्यलाई न्यानो कपडा वितरण गरिएको जनाउँदै उनले कालापत्थर कपडा फ्याक्ट्रीको सहयोगमा यस क्षेत्रमा ३ सय ज्याकेट, ४ सय टोपी र २ सय मोजा बितरण गरिने भण्डारीले जानकारी दिईन् । केहि बर्ष अघि सुरु भएको संस्थाका कार्यक्रम र सहयोगलाई कपिलवस्तु जिल्ला र यस क्षेत्रमा लक्षित गरिने उनले स्पष्ट पारिन ।