© 2026
भैरहवा ।
“विद्युतीय दुर्घटनाबाट बचौँ र बचाऔँ” भन्ने मूल नाराका साथ नेपाल विद्युत प्राधिकरण, भैरहवा वितरण केन्द्रले बिहिबार विद्युतीय सुरक्षा दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाएको छ ।
दिवसको अवसरमा कार्यालयबाट सुरु भएको प्रभातफेरी बुद्धचोक हुँदै लुम्बिनी गेट परिसर परिक्रमा गरी पुनः कार्यालयमै पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा करिब एकसय कर्मचारीको सहभागिता रहेको थियो । प्रभातफेरीपछि सहभागीहरूले विद्युतीय सुरक्षासम्बन्धी सपथ ग्रहण गरेका थिए भने सुरक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यालय प्रमुख सुरज रेग्मीले विद्युतीय सुरक्षा दिवसको औचित्य र आवश्यकता बारे विस्तृत जानकारी दिदै नेपाल विद्युत प्राधिकरणले विगत ६–७ वर्षदेखि प्रत्येक वर्ष चैत २६ गते यो दिवस नियमित रूपमा मनाउँदै आएको उल्लेख गरे । उनका अनुसार विद्युतसँग सम्बन्धित दुर्घटनाहरू मुख्यतः सचेतनाको कमी, सानो हेलचेक्र्याइँ तथा सुरक्षित अभ्यासको अभावका कारण हुने गरेका छन् ।
रेग्मीले प्रत्येक वर्ष करिब ८०० देखि १००० जना कर्मचारी तथा उपभोक्ता विद्युतीय दुर्घटनामा पर्ने गरेको बताए। उनले विद्युतलाई अन्य जोखिमहरूभन्दा बढी संवेदनशील भएको उल्लेख गर्दै यसको विशेषता नै अदृश्य हुनु रहेको बताए । “आगलागी वा पेट्रोलियम पदार्थ जस्तो विद्युत देखिने वस्तु होइन, त्यसैले यसप्रति सचेत रहन अझ आवश्यक हुन्छ,” उनले भने ।
उनले कर्मचारी मात्र नभई सम्पूर्ण उपभोक्तामा आधारभूत विद्युतीय सुरक्षा ज्ञान आवश्यक रहेको उल्लेख गर्दै साना–साना लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिए । यस्ता कार्यक्रमहरूले जनचेतना अभिवृद्धि गर्दै दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास उनले व्यक्त गरे ।
दिवसको अवसरमा विभिन्न सन्देशमूलक नाराहरू पनि प्रस्तुत गरिएको थियो। “विद्युत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिको लागि विद्युतको प्रयोग गरौँ”, “प्रलोभनमा नपरौँ, विद्युतको सुरक्षित उपयोग गरौँ”, “सुरक्षा प्रतिको चासो, दुर्घटनाबाट बच्ने साँचो”, “सुरक्षा सामग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा” जस्ता नाराहरूले सहभागीहरूलाई सचेत गराएका थिए ।
त्यसैगरी, “नगरौँ है चोरीको धन्दा, परिएला कानुनको फन्दा” भन्ने सन्देशमार्फत विद्युत चोरी विरुद्ध चेतना फैलाइएको थियो । विद्युत चोरी सामाजिक तथा कानुनी अपराध भएको उल्लेख गर्दै यसप्रति सबै नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा विद्युतीय साधनहरूको प्रयोगले वातावरणीय प्रदूषण घटाउन सहयोग पु¥याउने, पेट्रोलियम पदार्थमा निर्भरता कम गर्ने तथा अनलाइन माध्यमबाट महसुल भुक्तानी गरी समय र श्रम बचत गर्न सकिने सन्देश पनि प्रवाह गरिएको थियो । “समयमै महसुल भुक्तानी गरौँ, जरिमानाबाट बचौँ” भन्ने सन्देशले उपभोक्तालाई जिम्मेवार व्यवहारतर्फ प्रेरित गरेको थियो ।
नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले विद्युतीय सुरक्षा दिवसलाई एक सचेतनामूलक अभियानका रूपमा अघि बढाउँदै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । कार्यक्रमले विद्युत प्रयोगमा सुरक्षा सचेतना अभिवृद्धि गरी दीर्घकालीन रूपमा दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।