© 2026
बुटवल । बुटवलमा फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएपछि वडा तहमै ल्याण्डफिल साईट निर्माणका लागि जग्गाको खोजी गर्ने र फोहोर व्यवस्थापन गर्ने प्रयासको थालनी भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ७ र ८ ले शिवनगर सामुदायिक वनभित्र फोहोर प्रशोधन सहितको व्यवस्थापन केन्द्र निर्माण गरि सञ्चालनमा ल्याएको छ भने अन्य वडाहरूबाट सङ्कलित फोहोर तिनाउ नदी किनार मजुवामा फाल्ने गरिएको छ ।
केही दिनअघि मजुवाका स्थानीयले विरोध गरेपछि केही समय तनाव उत्पन्न भई फोहोर सङ्कलन र व्यवस्थापन कार्य रोकिएको थियो । बुटवल उपमहानगर र स्थानीयबिच सहमतिपश्चात् फोहोर व्यवस्थापनको कार्य सुचारु भएको छ ।
तिनाउ पश्चिमका वडा १२ र १३ नम्बरको फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साईट वा डम्पिङ्ग साईट निर्माण गर्न जग्गाको खोजी भैरहेको जनाइएको छ ।
यसमा साबिक सेमलार गाविसका तीन वटा वडाहरू १४, १५ र १६ पनि समावेश हुन सक्नेछन् । बुटवल १२ तामनगरस्थित कोरियन टेक्निकल ईन्टिच्यूटको उत्तरतर्फ चारपाला वन उपभोक्ता समूहको जग्गामा सम्भावित अध्ययन थालिएको छ भने ढवाहस्थित मिलनपार्कको उत्तरपट्टि जङ्गलमा पनि फोहोर व्यवस्थापनका लागि उपयुक्त जग्गा रहेको दाबी गरिएको छ ।
तिनाउ पश्चिमका वडाहरूले तिनाउ पश्चिममै व्यवस्थापन गर्ने जमर्को गरेको बुटवल–१२ का वडाध्यक्ष डिल्ली प्रसाद शर्मा आचार्यले बताए । लगभग जग्गाको खोजी भैसकेको र स्थानीयस्तरमा सहमति गरी काम अघि बढाइने अध्यक्ष आचार्यले जानकारी गराए ।
बुटवलमा स्थायी फोहोर व्यवस्थापन केन्द्र नहुँदा बेलाबेलामा ठुलो सहरी समस्या बन्ने गरेको छ । दैनिक ५० टन फोहोर उत्पादन तथा सङ्कलन हुने बुटवलमा स्थायी प्रकृतिको फोहोर व्यवस्थापन केन्द्र नहुँदा वर्षौँ देखि तिनाउ नदी किनारमा फोहोर फाल्ने गरिएको छ । समुचित फोहोर व्यवस्थापनका लागि जग्गा अभाव, बजेट अभाव, प्रविधिको अभाव र जनशक्ति अभाव लगायतका समस्याहरू अगाडि देखिने गरेका छन् ।
फोहोर व्यवस्थापन उचित ढङ्गले नहुँदा गाउँ सहरका टोल र गल्लीहरूमा दुर्गन्ध फैलिने, विभिन्न रोगहरू उत्पन्न हुने, फोहोर खेतबारीमा पुगेर उत्पादनमा ह्रास आउने लगायतका समस्याहरू उत्पन्न हुने गरेको अध्यक्ष आचार्यको भनाइ छ । अध्यक्ष आचार्यले भने—उता मोतीपुरका ३ वडाले पनि आफै व्यवस्थापन गर्दै छन् ।
चारपाला वन क्षेत्रको राजपुरदेखि उत्तरपट्टिको जग्गामा हाललाई डम्पिङ्ग साईटको अवधारणा बारे छलफल सुरु भएको र क्रमशः ल्याण्डफिल साईट र अत्याधुनिक फोहोर व्यवस्थापन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको छ ।
चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगत पौडेलका अनुसार वडा नम्बर १२ र १३ का जनप्रतिनिधि, राजनैतिक, सामाजिक व्यक्तिहरूबिच पटक पटक औपचारिक र अनौपचारिक छलफल पुनः सुरु भएको छ ।
तिनाउ पूर्व र तिनाउ पश्चिम भन्ने मनोविज्ञान यथावतै रहेकोले स्थानीय वडा तहमै फोहोर सङ्कलन, प्रशोधन र प्रविधियुक्त वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ अघि बढेको अध्यक्ष पौडेलले बताए ।