© 2026
बुटवल । रोल्पाको दुर्गम भेगमा साना किसानले उत्पादन गरेको कोदो, तरकारी र अन्य कृषि उपजले अब बजार पाउन थालेको छ ।
लुङ्गग्री गाउँपालिकामा रहेको लुङ्गग्री सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले किसान र बजारबिच सेतुको काम गर्दै स्थानीय उत्पादनलाई व्यवस्थित रूपमा बिक्री गर्न थालेपछि किसानमा नयाँ उत्साह देखिएको हो ।
पहिले गाउँमै उत्पादन हुने कोदोले उचित मूल्य नपाउँदा किसान निराश हुन्थे । उत्पादन भएर पनि थन्किनु पर्ने बाध्यता थियो । यही समस्या देखेपछि सहकारीले बजार खोज्ने पहल सुरु गरेको संस्थाकी अध्यक्ष भूमिका विष्ट बताउँछिन् । “हामीले सङ्कलन र बजारीकरणको जिम्मा लियौँ, किसानले उत्पादनमा ध्यान दिन थाले,” उनी भन्छिन् ।
सहकारीले यसअघि पनि सदस्यहरूले उत्पादन गरेका तरकारी, फलफूल, टिमुर, खसी बोका लगायतका वस्तु सङ्कलन गरी बजारसम्म पु¥याउँदै आएको थियो । सदस्यहरूलाई सानो कर्जा उपलब्ध गराएर उत्पादनमा जोड्ने र त्यसपछि उत्पादनलाई बजारसँग जोड्ने काम सहकारीले गर्दै आएको छ ।
“हामी उत्पादनमा होइन, बजारमा पुल बनेका छौं,” अध्यक्ष विष्टको भनाइ छ, “बजारको सुनिश्चितता भएपछि किसान आफैँ उत्पादन बढाउन अग्रसर भएका छन् ।”
यसैक्रममा सहकारीले यो महिनादेखि रोल्पामा उत्पादन भएको कोदो सङ्कलन गरी बिक्री वितरण सुरु गरेको छ । पछिल्लो समय बजारमा कोदोको माग बढ्दै गएपछि सहकारीले ‘नेपाली माटो खाद्यान्न प्रालि’ सँग खरिद सम्झौता गर्दै औपचारिक रूपमा बजारीकरण थालेको हो । सम्झौताअनुसार सङ्कलित कोदो प्रालिले खरिद गर्नेछ ।
हालसम्म सहकारीले करिब ७० क्विन्टल कोदो बिक्री गरिसकेको छ, जसबाट ४ लाख ८६ हजार ७ सय ४५ रुपैयाँ आम्दानी भएको छ । सहकारीले प्रति केजी ७० रुपैयाँका दरले कोदो बिक्री गरेको जनाएको छ ।
स्थानीय स्तरमै उत्पादनलाई बजारसँग जोड्ने यस्तो प्रयासले किसानको जीवनस्तरमा परिवर्तन आउन थालेको छ । सहिद परिवार समाज नेपाल रोल्पाका अध्यक्ष विशाल खड्का भन्छन्, “पहिले उत्पादन भएर पनि बिक्री नहुँदा किसान उत्साहित हुँदैनथे । अहिले बजार पाइन्छ भन्ने विश्वासले खेतीपातीतर्फ आकर्षण बढेको छ ।”
उनका अनुसार तरकारी मात्र होइन, अन्य कृषि उत्पादनलाई पनि व्यवस्थित रूपमा बजारमा पु¥याउन सके ग्रामीण क्षेत्रमै आयआर्जनका प्रशस्त सम्भावना छन् । “पहिले पहिले उत्पादन भएका खाद्यान्नहरू बेच्न नपाउँदा उत्पादनमा मेहनत नगर्नेहरू पनि अहिले बेच्न पाइन्छ भनेर खेतीपातीमा जोडिएका छन्”–उनी भन्छन् ।
लुङ्गग्री गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र सहिद परिवार समाजको सहकार्यमा सहकारीले साना किसानका उत्पादन सङ्कलन र बिक्री गर्दै आएको छ । आगामी दिनमा थप सहकार्य विस्तार गर्दै किसानलाई आर्थिक रूपमा सबल बनाउने योजना रहेको अध्यक्ष विष्टले बताइन् ।
सहकारीको यो पहलले यदि उत्पादनलाई बजारसँग जोड्न सकियो भने गाउँमै बसेर पनि किसानले सम्मानजनक आम्दानी गर्न सक्छन् भन्ने कुराको गतिलो सन्देश पनि दिएको छ ।