© 2026
तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पछिल्लो समय सञ्चालनमा ल्याइएका पशु भ्याक्सिन कार्यक्रम र कृत्रिम गर्भाधान सेवा प्रभावकारी बन्दै गएका छन् । यी कार्यक्रमले पशु स्वास्थ्यमा सुधार ल्याउनुका साथै उत्पादन वृद्धि गरी किसानको आम्दानी बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । स्थानीय सरकारको सक्रियता, प्राविधिक सहयोग र किसानको सहभागिताले पशुपालन क्षेत्र क्रमशः व्यावसायिक र दिगो बन्दै गएको देखिन्छ ।
नगरपालिकाको पशु सेवा शाखामार्फत गाई, भैँसी, बाख्रा लगायतका पशुहरूमा नियमित रूपमा खोप अभियान सञ्चालन हुँदै आएको छ । विशेष गरी लम्पी स्किन, खोरेत, भ्याकुते–चर्चरे तथा पिपिआर जस्ता सङ्क्रामक रोगविरुद्ध खोप लगाउने कार्यलाई प्राथमिकता दिइएको छ । यसले पशुहरूमा रोगको जोखिम घटाउनुका साथै मृत्युदर नियन्त्रण गर्न मद्दत पुगेको छ ।
नगरपालिकाका पशु विकास प्राविधिक राजु कुँवरका अनुसार २०८२ साल फागुन मसान्तसम्ममा खोरेत रोगविरुद्ध ११ हजारभन्दा बढी पशुमा खोप लगाइसकिएको छ । अब छिट्टै भ्याकुते–चर्चरे विरुद्धको खोप अभियान सञ्चालनको तयारी भइरहेको छ । त्यस्तै बाख्रामा देखिने पिपिआर रोगविरुद्ध करिब २२ हजार डोज खोप तयारी अवस्थामा राखिएको छ । उक्त खोप अभियान सम्पन्न भएपछि गाईमा देखिने लम्पी स्किन रोगविरुद्ध खोप सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । खोप कार्यक्रमलाई सबै किसानको पहुँचमा पुर्याउन न्यून शुल्कमा सेवा उपलब्ध गराइएको पनि उनले बताए ।
तिलोत्तमा–६ गणेशपुरका किसान पविन्द्र थारुले विगतमा पशु बिरामी पर्दा ठुलो चिन्ता हुने गरेको अनुभव सुनाउँदै अहिले घरमै प्राविधिक आएर खोप लगाइदिने व्यवस्था भएपछि सहज भएको बताए । “अहिले पशुहरू कम बिरामी पर्छन्, दूध उत्पादन पनि बढेको छ । मेहनतअनुसार आम्दानी हुन थालेपछि यही पेसामा लाग्न उत्साह मिलेको छ ।” उनले भने ।
त्यसै गरी तिलोत्तमा–९ शंकरपुरका अर्का किसान अशोक कुमार चौधरीले पनि भ्याक्सिन कार्यक्रमले पशुको स्वास्थ्यमा सुधार ल्याउनुका साथै उत्पादन क्षमता बढाउन ठुलो सहयोग पुगेको बताए । उनका अनुसार खोपले पशुमा लाग्ने घातक रोगहरू नियन्त्रणमा आएपछि पशुपालन व्यवसायप्रति विश्वास बढेको छ । विदेश गएर परिवारबाट टाढा अरूको काम गरेर बस्नुभन्दा आफ्नो खुसीले आफ्नै देशमा गाई भैँसी पालेर दुग्ध व्यवसाय गर्नु निकै राम्रो लागेको उनी बताउँछन् ।
तिलोत्तमा नगरपालिकाले पशुपालक किसानहरूलाई उत्पादनमा आधारित दूधमा पनि अनुदान दिने गरेको छ । अघिल्लो वर्षहरूमा जस्तै यो वर्षमा पनि पशुपालक किसानहरूलाई अनुदान कार्यक्रम अन्तर्गत नगरपालिकाले १८ वटा दुग्ध उत्पादक सहकारी संस्थाहरू मार्फत १७४९ किसानहरूको प्रति लिटर २ रुपैयाँको दरले हुन आउने रकम करिब ६१ लाख १३ हजार ५ सय ९६ अनुदान वितरण गरिएको कुँवरले बताए । नगरपालिका भरिका किसानले उत्पादन गरेको ३० लाख ५६ हजार ७ सय ९८ लिटर दूधको अनुदान स्वरूप सो रकम किसानहरूकै हातमा बुझाउने गरि सहकारी मार्फत पठाइएको प्रमुख कुँवरले बताए ।
त्यसै गरी कृत्रिम गर्भाधान सेवा पनि तिलोत्तमामा लोकप्रिय बन्दै गएको छ । यसले स्थानीय स्तरमै उन्नत नश्ल विकास गर्न सम्भव बनाएको पशु विकास प्राविधिक कुँवरले बताए । उनका अनुसार कृत्रिम गर्भाधानको फागुन मसान्तसम्ममा गाईमा ४ हजार ७ सय ९ वटा भैँसीमा १ हजार २ सय ४० र बाख्रामा भने चार वटामा मात्र कृत्रिम गर्भाधानको भ्याक्सिन लगाइएको छ । गाईबस्तुमा बाँझोपनको समस्या भएमा यसको समाधान गर्न तिलोत्तमाका पशु प्राविधिकले किसानको गोठमै पुगेर परीक्षण एवं उपचार गर्ने गरेका छन् ।
तिलोत्तमा नगरपालिका पशु सेवा शाखाको प्राविधिक सहयोग र भेटेरिनरी अस्पताल भैरहवाको समन्वयमा गाई भैँसीमा हुने बाँझोपनको परीक्षण तथा उपचार थालिएको हो । बाझोपन शिविर नै राखेर वा घरघरमै गएर पनि भ्याक्सिन लगाउने गरिएको कुँवरले जानकारी दिए ।
बाँझोपन भएका गाईको परीक्षण गरी के कारणले भएको हो भन्ने पत्ता लगाएर उपचार प्रक्रिया अगाडि बढाउँदै आइएको र अन्य थप औषधोपचार गर्नुपर्ने भए किसानसँग सल्लाह गरी प्रक्रिया अगाडि बढाइने गरेको कुँवरले बताए । कृत्रिम गर्भाधान प्रयोग गरेपछि गाई भैँसीको नस्लमा सुधार भई दूध उत्पादन बढ्ने तथा आम्दानी पनि पहिलेभन्दा राम्रो हुने र यो सुविधा नगरपालिकाले घरमै बसेर उपलब्ध गराएकोले यहाँका किसानहरू निकै खुसी देखिन्छन् ।
नगरपालिकाले किसानलाई सहज रूपमा सेवा उपलब्ध गराउन विभिन्न वडामा प्राविधिक परिचालन गरेको छ । साथै किसानलाई सचेतना अभिवृद्धि गर्न तालिम तथा अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिँदै आएको छ । यसले किसानलाई वैज्ञानिक पशुपालनतर्फ आकर्षित गरेको छ । पशु सेवा शाखाका अनुसार, भ्याक्सिन र कृत्रिम गर्भाधान दुवै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन विशेष गरी दुग्ध उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ उन्नत नस्ल विकासलाई प्राथमिकतामा राखिएको छ ।
पशु स्वास्थ्य सुधार र उत्पादन वृद्धि भएपछि बजारमा दूध तथा मासुको आपूर्ति बढेको छ, जसले स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुर्याएको छ । समग्रमा हेर्दा तिलोत्तमामा पशु भ्याक्सिन र कृत्रिम गर्भाधान कार्यक्रमले सकारात्मक परिवर्तन ल्याएको स्पष्ट देखिन्छ । स्थानीय सरकार, प्राविधिक र किसानबिचको सहकार्यलाई अझ सुदृढ बनाउन सकेमा पक्कै पनि तिलोत्तमा नगरपालिका पशुपालन क्षेत्रमा नमुना नगरपालिकाको रूपमा स्थापित हुने छ ।