Butwal Today

झोलुङ्गे पुलले जोड्यो वर्षौँदेखिको दूरी 

२४ चैत्र २०८२, मंगलवार
अ+
अ-

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्धारित समयभन्दा पाँच महिना अगावै निर्माण सम्पन्न भएको छ ।

सडक पूर्वाधार विकास कार्यालय, तम्घासमार्फत निर्माण गरिएको १४६ मिटर लामो सस्पेन्सन (एन–टाइप) पुलको निर्माण आस्था सम्झना जेभी, अर्घाखाँचीले निर्माण समयअघि नै सम्पन्न गरेको हो ।

पुल निर्माणका लागि रु. एक करोड ७१ लाख ८४ हजार ४६० बजेट विनियोजन गरिएको थियो । निर्माण व्यवसायीसँग २०८२ भदौ ३ गते सम्झौता भई २०८३ भदौ ३ गते भित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएपछि स्थानीय वासीहरू यति बेला निकै खुसी बनेका छन् ।

वर्षा याममा खोलामा बाढी आउँदा बढ्दा स्थानीय बासिन्दा, विशेष गरी विद्यार्थी, बालबालिका, वृद्ध वृद्धा तथा बिरामीलाई आवतजावतमा निकै सास्ती खेप्नुपर्ने बाध्यता थियो । यसअघि पुल अभावमा वर्षातको समयमा कतिपय विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने अवस्था रहेको स्थानीय यमबहादुर थापाले बताए ।

थापाका अनुसार पुल नहुँदा खोला तर्न जोखिम मोल्नुपर्ने तथा लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । अब पुल सञ्चालनमा आएपछि करिब आधा घण्टाको दूरी पाँच मिनेटमै पुग्न सकिने भएको छ ।

स्थानीय रामलाल घिमिरेका अनुसार पुल सञ्चालनमा आएपछि विद्यालय तथा स्वास्थ्य सेवा लिन जानका लागि सहज बन्नुका साथै व्यापारिक क्षेत्रमा पनि चहलपहल बढ्ने बताइएको छ ।

लामो समयदेखि त्यस क्षेत्रका बासिन्दाहरूले राजनैतिक दलहरूसँग गरेको झोलुङ्गे पुलको माग ढिलै भए पनि पूरा गरिदिएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

उक्त पुलले वारी र पारिरहेको दुई बस्तीलाई जोड्ने मात्र नभई त्यस क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा समेत हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?