Butwal Today

अवैध उत्खनन गर्ने कानुनको फन्दामा

२३ चैत्र २०८२, सोमबार
अ+
अ-

सल्यान  । सल्यानमा अवैध उत्खनन नियन्त्रण अभियान अन्तर्गत प्रहरीले चार दिनमै २५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

जिल्लाका विभिन्न खोला तथा नदी क्षेत्रबाट अनुमति बिना बालुवा तथा गिट्टी उत्खनन तथा ओसारपसार गर्ने गतिविधि बढेपछि जिल्ला प्रहरी कार्यालय सल्यानले सक्रियता बढाएको हो ।

प्रहरीका अनुसार शारदा, थारमारे, लुहाम, सल्ली लगायतका स्थानहरूमा विशेष निगरानी गर्दै सञ्चालन गरिएको अभियानका क्रममा ती ट्याक्टरहरू नियन्त्रणमा लिइएका हुन् ।

नियन्त्रणमा लिइएका सवारी साधनहरू हाल सम्बन्धित प्रहरी चौकीहरूमा राखिएको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।

पछिल्लो समय अवैध उत्खनन र ढुवानीमा संलग्न सवारी साधनमाथि कडाइका साथ निगरानी बढाइएको प्रहरीले जनाएको छ । “नियम विपरीत सञ्चालन हुने ट्याक्टरहरू नियन्त्रणमा आउन थालेपछि यस्ता गतिविधिमा केही कमी आएको देखिएको छ,” प्रवक्ता भट्टराईले भने ।

प्रहरीले जिल्लाभर नै अनुगमन तथा नियन्त्रण अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ । विशेष गरी नदी तथा खोलानालाबाट अनुमति बिना प्राकृतिक स्रोत दोहन गर्ने कार्यलाई नियन्त्रण गर्न थप कडाइ गरिएको हो ।

यसले वातावरणीय सन्तुलन जोगाउनुका साथै स्थानीय स्तरमा हुने अव्यवस्थित उत्खनन रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस्तै प्रहरीले अनुमति बिना यस्ता गतिविधिमा संलग्न नहुन तथा नगराउन सबै सरोकारवालासँग आग्रह गरेको छ । नियम उल्लङ्घन गर्ने जोकोहीलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याइने स्पष्ट पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?