Butwal Today

गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण

२२ चैत्र २०८२, आइतबार
अ+
अ-

अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ३ मा गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य र पोषण अवस्थालाई सुदृढ बनाउने उद्देश्यले पोषण सामग्री वितरण गरिएको छ । वडा भित्र रहेका सुनौलो हजार दिनका आमा तथा शिशुको पोषण सुधारलाई प्राथमिकता दिदै पोषण सामाग्री प्रदान गरिएको हो ।

वराहनेटा आधारभूत स्वास्थ्य केन्द्रको आयोजना तथा सन्धिखर्क नगरपालिका वडा नम्बर ३ कार्यालय को समन्वयमा सम्पन्न कार्यक्रममा २१ जना गर्भवती र ३१ जना सुत्केरी आमा गरी ५२ जनालाई पोषण सामग्री प्रदान गरिएको स्वास्थ्य केन्द्रका प्रमुख धर्मराज पन्थीले बताए ।

सुनौलो हजार दिन अवधिलाई लक्षित गर्दै आमाहरूलाई एक क्यारेट अण्डा, चना, साबुन र नेल कटर वितरण गरिएको थियो । गर्भावस्था र सुत्केरी अवस्थामा सन्तुलित आहार, सरसफाइ र व्यक्तिगत स्वास्थ्य सुरक्षाले आमा र नवजात शिशुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता सामग्री वितरण गरिएको वडा अध्यक्ष जम्शेर मियाँले बताएका छन् ।

गर्भवती र सुत्केरी अवस्थामा पोषणको महत्वबारे समुदायमा सचेतना फैलाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउदै वडा अध्यक्ष मियाँले विशेषगरी ग्रामीण क्षेत्रमा अझै पनि पोषणसम्बन्धी जनचेतनाको अभाव देखिएकाले स्थानीय सरकार र स्वास्थ्य संस्थाबीचको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए । “आमाको स्वास्थ्य राम्रो भए मात्र स्वस्थ शिशुको जन्म र समुचित विकास सम्भव हुन्छ,” उनले बताए ।

कार्यक्रममा वडा अध्यक्ष जम्शेर मियाँसहित वडा सदस्यहरू कुलदिप राना र टेकलाल गिरी, बराहनेटा आधारभुत विद्यालयका प्रधनाध्यापक कृष्ण प्रसाद आचार्य, स्वास्थ्य केन्द्र प्रमुख धर्मराज पन्थी, स्वास्थ्यकर्मीहरु गोमा थापा, कल्पना खनाल लगायतको उपस्थिति रहेको थियो।

स्थानीय तहले स्वास्थ्य संस्थासँग समन्वय गरेर गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरेका यस्ता कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । पोषण सामग्री वितरणसँगै स्वास्थ्य शिक्षा र सरसफाइसम्बन्धी सन्देश पनि दिइएकाले यसले समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

विशेषगरी सुनौलो हजार दिनभित्रको पोषणमा गरिएको लगानीले भविष्यमा बालबालिकाको शारीरिक तथा मानसिक विकासमा दीर्घकालीन लाभ पुग्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?