© 2026
भैरहवा ।
भैरहवा अब स्वाद र संस्कृतिको संगम बन्ने तयारीमा छ। नयाँ वर्ष २०८३ को स्वागतलाई लक्षित गर्दै सिद्धार्थनगरमा एक दिने भव्य ‘पाँचौँ सिद्धार्थ रैथाने सडक खाना महोत्सव २०८२’ आयोजना गरिने भएको छ । चैत ३० गते सिद्धार्थनगर–३, आँखा अस्पताल रंगशाला रोडमा हुने महोत्सवले स्थानीय रैथाने परिकारलाई पुनर्जीवन दिने अपेक्षा गरिएको छ ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको आयोजनामा हुन लागेको यस महोत्सवको मुख्य उद्देश्य भैरहवालाई फुड फेस्टिभलको केन्द्रका रूपमा स्थापित गर्नुका साथै परम्परागत खानाको संरक्षण र प्रवद्र्धन गर्नु रहेको छ ।
संगठनका अध्यक्ष राजेश महोत्राका अनुसार महोत्सवमा विशेषगरी थारु, मगर, गुरुङ लगायत समुदायका मौलिक परिकारलाई प्राथमिकताका साथ प्रस्तुत गरिनेछ, जसले विविध सांस्कृतिक स्वादलाई एउटै स्थानमा अनुभव गर्ने अवसर प्रदान गर्ने बताए ।
महोत्सवमा सहभागी ठूला तथा साना होटलहरूले आफ्ना विशेष ‘सिग्नेचर डिश’ हरू सुपथ मूल्यमा उपलब्ध गराउनेछन् । उपभोक्तालाई गुणस्तरीय खाना सुलभ मूल्यमा उपलब्ध गराउनेतर्फ विशेष ध्यान दिइने जनाइएको छ । साथै सहभागी व्यवसायीहरूले छुटको व्यवस्था गर्ने र उत्कृष्ट परिकारलाई पुरस्कार प्रदान गरिने कार्यक्रमसमेत राखिएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी भैरहवामा बसाइ अवधि लम्ब्याउने विश्वास आयोजकको छ ।
सिद्धार्थनगर नगरपालिका सह–आयोजक रहेको यस महोत्सवमा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । करिब २५ देखि ३० हजार दर्शकको सहभागिता रहने अपेक्षा गरिएको महोत्सवमा ८० वटा स्टल सञ्चालन हुनेछन् । बिहान ७ बजेदेखि राति १२ बजेसम्म चल्ने कार्यक्रमबाट एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको छ ।
महोत्सवलाई अझ आकर्षक बनाउन राष्ट्रिय कलाकार सिम्रन परियारसहित स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रमको समापन आतिशबाजीसहित गरिने योजना छ, जसले दर्शकलाई मनोरञ्जनसँगै अविस्मरणीय अनुभव दिनेछ ।
कार्यक्रममा नाट्टा अध्यक्ष चन्द्र थापा, सुनचाँदी ब्याबसायी संघ सिद्धार्थनगरका अध्यक्ष राजन रसाइली, मदिरा ब्याबसायी सङ सिद्धार्थनगरका सल्लाहकार खिमबहादुर खत्री , होटल तथा रेस्टुरेन्ट ब्याबसायी सङ लुम्बिनी प्रदेशका महासचिब गणेसप्रसाद बेल्बासे, सङका सस्थापक अध्यक्ष अनिलकुमार ज्ञवाली लगायतले आफ्नो भनाइ राखेका थिए ।