© 2026
सल्यान । दिनभर वडा कार्यालयमा नागरिकका समस्या सुन्ने र समाधान गर्ने जिम्मेवारीमा रहने एक जना जनप्रतिनिधि यति बेला परीक्षा केन्द्रमा विद्यार्थीको रूपमा सहभागी छन् ।
दार्मा गाउँपालिका वडा नम्बर, ५ का वडाध्यक्ष सुदीप केसी ४० वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका छन् । दुई दशकअघि अधुरो छोडिएको पढाइलाई फेरि निरन्तरता दिँदै यसपालि एसइई परीक्षा दिइरहेका हुन् ।
राजनीतिमा रहँदा औपचारिक शिक्षाको अभाव खड्किएको महसुस भएपछि उनले पुनः विद्यालय शिक्षा सुरु गर्ने निर्णय लिएका हुन् । २०६२ सालमा कक्षा १० को पढाइ अधुरै छाडेर भारत गएका केसीले करिब दुई दशकपछि फेरि किताब समातेका छन् ।
“उति बेला टेस्ट परीक्षा दिएरै साथीहरूको लहैलहैमा भारत गएँ, त्यसपछि जीवन गुजार्नमै समय बित्यो,” उनले भने, “पैसा कमाउने दौडमा पढाइ छुट्यो, तर अहिले राजनीति गर्दा पढाइ कति आवश्यक रहेछ भन्ने बुझ्दै छु ।”
भारतमा केही वर्ष काम गरेपछि उनी वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । चार वर्षपछि फर्केर उनले जेसिवी सञ्चालन गर्दै जीविकोपार्जन गरे । सङ्घीयता लागू भएपछि स्थानीय तहको राजनीतिमा होमिएका केसी २०७४ मा वडा सदस्यको कार्यकाल पूरा गर्दै फेरि २०७९ मा वडाध्यक्ष निर्वाचित भएर नागरिक सेवामा छन् ।
वडा कार्यालयको जिम्मेवारी सम्हाल्दै जाँदा नीति, कानुन र प्रशासनिक काम बुझ्न शिक्षाको आवश्यकता महसुस भएको उनी बताउँछन् । त्यसपछि उनले आफ्नै वडाको दार्माकोटस्थित नेपाल राष्ट्रिय माविमा कक्षा १० मा भर्ना भएर फेरि अध्ययन सुरु गरेका हुन् । एसइई परीक्षाको अनुभवबारे उनले भने, “छोराछोरीको उमेरका विद्यार्थीसँगै परीक्षा दिनु सुरुवातमा अलि असहज लाग्यो, तर अहिले सबै आफ्नै साथी जस्तो लाग्न थालेका छन् ।”
नियमित विद्यालय जान नसके पनि घरमै अध्ययन गरेर परीक्षा दिइरहेको उनले बताए । पहिलो र दोस्रो दिनको परीक्षा सन्तोषजनक भएको उनको भनाइ छ । केसीका अनुसार विगतको भन्दा अहिलेको परीक्षा प्रणालीमा धेरै परिवर्तन आएको महसुस भएको छ ।
वडामा नेतृत्व गरिरहेका जनप्रतिनिधिले शिक्षा प्रति देखाएको प्रतिबद्धताले अन्य नागरिकलाई पनि अध्ययनतर्फ आकर्षित गर्ने अपेक्षा छ । आगामी दिनमा पढाइलाई निरन्तरता दिने योजना बनाएका केसीले इच्छाशक्ति भए जुनसुकै उमेरमा पनि शिक्षा हासिल गर्न सकिने बताउँछन् ।
यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ । यसै गरी ‘मार्क स्लिप प्रिन्ट’ गरी ‘ट्याब’ मा चढाई खाममा ‘सिलबन्दी’ गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसले पनि उनलाई उत्साहित बनाएको छ ।
केन्द्रले प्राप्त हुने उत्तर पुस्तिकामा ‘प्याकेट’ तोकिएको ढाँचामा लगत खडा गरी राख्नेछ । तत्पश्चात् सिलबन्दी खाममा परीक्षा केन्द्र र विषय उल्लेख गरेर परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०ंं) मा पठाउनुपर्नेछ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका, २०८२ मा परीक्षा समाप्त हुने समयमा तोकिएका परीक्षक परीक्षण केन्द्रमा पुगिसक्नुपर्ने प्रबन्ध गरिएको छ । सम्बन्धित विद्यालयको उत्तर पुस्तिका नपर्ने गरी परीक्षक र सम्परीक्षक व्यवस्था गर्नुपर्नेछ । नतिजा प्रकाशनलाई प्रदेशगत रूपमा पनि प्रकाशन गर्न सकिने व्यवस्था गरिएको छ ।
उत्तर पुस्तिका परीक्षक र सम्परीक्षकलाई परीक्षण केन्द्रमा नै रहेर परीक्षण गर्न भनिएको छ । परीक्षण केन्द्र रहेको विद्यालय भवनको सम्भव भएसम्म सिसिटिभी जडान भएको सुरक्षित कक्षमा परीक्षण र सम्परीक्षण गराउने व्यवस्था गरिएको छ भने परीक्षण केन्द्रबाट उत्तर पुस्तिका बाहिर लैजाने, तोकिएका परीक्षकको सट्टामा अन्यले परीक्षण गर्ने, तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्ने, उत्तर पुस्तिकाको पोका हराउन वा मिसिन सक्ने जस्ता अनियमितता रोक्ने प्रबन्ध गरिएको छ ।
परीक्षक र सम्परीक्षकले परीक्षण कक्षमा मोबाइललगायतका विद्युतीय उपकरण ल्याउन नहुने निर्देशिकामा उल्लेख छ ।