Butwal Today

बुटवलमा हनुमान जयन्तीको रौनक (तस्वीरहरु)

१९ चैत्र २०८२, बिहीबार
अ+
अ-

बुटवल । हिन्दु धर्मशास्त्र अनुसार सत्य, साहस र भक्तिभावका प्रणेताका रुपमा पुजिने रामभक्त हनुमानको जन्मदिन बिहिबार बिश्वभर बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । यसैबिच बुटवलका बिभिन्न हनुमान मन्दिरहरुमा पनि श्रद्धा र भक्तिभावका साथ बिशेष कार्यक्रमको आयोजना गरि पूजा, आरती, भजन–कीर्तन र धार्मिक झाँकीहरु प्रदर्शन गरिएको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वका अवसरमा देशभरका हनुमान मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको उल्लेख्य भीड लागेको थियो ।

बुटवल–२ स्थित हनुमान मन्दिर, हाटबजार क्षेत्रको हनुमान मन्दिर, राममन्दिर लगायतका धार्मिक स्थलहरूमा श्रद्धालुहरू पुजाआजा र दर्शनका लागि पुगेका थिए । यस अवसरमा भक्तजनहरूले भगवान हनुमानको पूजा–आराधना गर्दै सुख, शान्ति र शक्ति प्राप्तिको कामना गरेका छन् ।

 

 


यसै अवसरमा बुटवल–५ मा अवस्थित हनुमान मन्दिरबाट धार्मिक झाँकीसहितको भव्य र्‍याली निकालिएको थियो । र्‍यालीले अमरपथ, विपीचोक, राममन्दिर लाइन हुँदै हाटबजार क्षेत्र परिक्रमा गरेको थियो, जसले नगरको धार्मिक वातावरणलाई थप उत्साहपूर्ण र आनन्दित बनाएको थियो । बुटवल–५ का वडा अध्यक्ष हरि श्रेष्ठका अनुसार २०४३ सालमा स्थापना भएको उक्त हनुमान मन्दिरको संरक्षण तथा विकाससँगै हनुमान जयन्तीलाई पनि विशेष रूपमा मनाउने गरिएको छ ।

धार्मिक मान्यता अनुसार हनुमानलाई संकटमोचन अर्थात् दुःख–कष्ट हटाउने देवताको रूपमा पूजा गरिन्छ । यस दिन हनुमान चालीसा पाठ गर्ने, सुन्दरकाण्ड वाचन गर्ने, दान–पुण्य गर्ने, व्रत बस्ने परम्परा रहेको छ । अध्यक्ष श्रेष्ठका अनुसार हनुमान जयन्तीले सत्य, साहस र भक्तिभावको सन्देश दिने महत्वपूर्ण धार्मिक पर्वका रूपमा समाजमा विशेष स्थान राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?