© 2026
बुटवल । नेपालको यातायात क्षेत्रमा पश्चिम नेपाल बस व्यवसायी प्रालि मुलुककै सबैभन्दा ठूलो संस्थाको रूपमा चिनिन्छ ।
२०२६ सालमा स्थापना भएको तत्कालीन ‘पश्चिम नेपाल बस व्यवसायी सङ्घ’ समयको पदचापसँगै २०७६ सालमा प्रा.लि.मा रूपान्तरण भयो । ५६ वर्ष लामो गौरवशाली यात्रा तय गरेको यस संस्थाले यति बेला आफ्नो छैटौँ वार्षिक साधारण सभालाई केवल औपचारिक बैठकमा मात्र सीमित नगरी एक नवीन उत्सवको रूप दिएको छ ।
सामान्यतया ठुला संस्थाहरूको साधारण सभा एकैदिनमा भिडभाडका साथ सम्पन्न गरिन्छ, जहाँ साना व्यवसायीका आवाजहरूले उचित स्थान पाएका हुँदैनन् ।
तर, यस पटक पश्चिम नेपाल बस प्रा.लि.ले लोकतान्त्रिक र समावेशी अभ्यासको नयाँ नमुना प्रस्तुत गरेको छ । चैत १४ गतेदेखि सुरु भएको साधारण सभा १८ गतेसम्म गरी पाँच दिन सञ्चालन भइरहेको छ ।
विभिन्न रुटका आधारमा व्यवसायीहरूलाई अलग–अलग दिन आमन्त्रण गरिएको छ । अध्यक्ष दधिराम खरेलका अनुसार, धेरै सदस्य भएको संस्थामा व्यवसायीका जिज्ञासा, गुनासो र कथा–व्यथाहरू नछुटुन् र प्रत्येक सदस्यले आफ्नो कुरा राख्ने पर्याप्त समय पाऊन् भन्ने उद्देश्यले यस पटक फरक ढङ्गले सभा आयोजना गरिएको हो ।“
आजको मितिमा यस प्रा.लि.सँग २ हजार २ सय २ सवारी साधन आबद्ध छन् । यसका पाङ्ग्राहरूले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मको माटो छोएका छन् । दक्षिणको बेलहियादेखि उत्तरको मनाङ र मुस्ताङका कठिन हिमाली भेगसम्म यो संस्थाले सेवाको ‘लाईफलाइन’ विस्तार गरेको छ ।
कुनै समय २५ सयको हाराहारीमा सवारी साधन रहेको यस संस्थाले पछिल्लो समय संख्या भन्दा गुणस्तरमा ध्यान दिन थालेको छ । पुराना ‘२००६ मोडल’ सम्मका बसहरूलाई विस्थापित गरी व्यवसायीलाई उचित मुआब्जा दिएर नयाँ र आधुनिक सवारी साधन भित्र्याउने नीति संस्थाले लिएको छ । यो केवल व्यवसाय मात्र होइन, यात्रु सुरक्षाप्रतिको गहिरो प्रतिबद्धता पनि हो ।
यातायात मजदुर र चालकहरूको जीवन अक्सर अनिश्चितताको भुमरीमा हुने गर्छ । सडकमा जीवन बिताएका मजदुरहरूले उमेर ढल्केपछि ‘रिटायर लाइफ’ अभावमा बिताउनु नपरोस् भनेर संस्थाले ‘पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ सञ्चालनमा ल्याएको छ ।
अध्यक्ष खरेल भन्छन्, “चालक र मजदुरले आफ्नो अमूल्य जीवन सडकमा बिताउँछन् । उनीहरूको बुढेसकाल सहाराविहीन नहोस् भनेर सानो–सानो बचतबाट सहकारीमार्फत सहयोग पुर्याउने हाम्रो लक्ष्य हो ।” यो कदमले मजदुरलाई पेसाप्रति थप जिम्मेवार र सुरक्षित महसुस गराएको छ ।
यातायात क्षेत्र गुलाबको ओछ्यान होइन । नीतिगत जटिलता, इन्धनको मूल्यवृद्धि, सडकको दुरावस्था र अव्यवस्थित प्रतिस्पर्धाका बीच व्यवसाय टिकाउनु फलामको चिउरा चपाउनु सरह छ । प्रबन्ध सञ्चालक रामचन्द्र भुसालका अनुसार संस्थाले अब आफूलाई ’डिजिटल प्रणाली’मा ढाल्दै लगेको छ । प्रशासनिक काममा पारदर्शिता, कर्मचारीको क्षमता विकास र यात्रुमैत्री सेवा अबको मुख्य एजेन्डा हो ।
लेखा सञ्चालक मोहन पीसीका अनुसार सडक सुरक्षा र अनधिकृत सवारी सञ्चालन अझै पनि चुनौतीका रूपमा रहेका छन् । यद्यपि, संस्थाले सञ्चालन गरेको ‘दुर्घटना न्यूनीकरण अभियान’ले मानवीय र भौतिक क्षतिमा उल्लेख्य कमी ल्याएको छ ।
प्रालिको साधारण सभामा उत्साहजनक सहभागिता समेत देखिएको छ । पहिलो दिन चैत १४ गते भैरहवा–काठमाडौं र स्कुल/कलेज प्रखण्डका ५३७ सदस्यको उपस्थिति रहेको थियो । त्यस्तै दोस्रो दिन चैत १५ गते स्याङ्जा, पोखरा, बागलुङ र बुटवल–नारायणगढ क्षेत्रका ३३९ व्यवसायी सहभागी भएका थिए ।
तेस्रो दिन चैत १६ गते पाल्पा, गुल्मी र अर्घाखाँची रुटका ४०५ जना सहभागी भए भने चौथो दिन अर्थात मंगलबार पश्चिम प्रखण्ड (कृष्णनगर, तौलिहवा, लुम्बिनी, परासी आदि) का ४२७ सदस्य सहभागी भए । त्यस्तै अन्तिम दिन बुधबार बुटवल–भैरहवा नगर र माइक्रो बस प्रखण्डका ४७८ जना सहभागी हुँदै छन् ।
साधारण सभाको अर्को सुन्दर पक्ष भनेको उत्कृष्ट चालक सम्मान हो । लामो समयसम्म कुनै दुर्घटना नगराई सुरक्षित सेवा दिने चालकहरूलाई पुरस्कृत गरेर संस्थाले सुरक्षित ड्राइभिङको संस्कृतिलाई प्रोत्साहन गरेको छ ।
त्यस्तै, १८ गते समापनको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व समेत पूरा गर्दै छ ।
नेपालको निजी क्षेत्रको यातायात व्यवस्थापनमा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. एक पाठशाला जस्तै बनेको छ । प्रविधिको प्रयोग, मजदुरको सामाजिक सुरक्षा र यात्रुको सुरक्षालाई केन्द्रमा राखेर यो संस्थाले जसरी आफ्नो छैटौँ साधारण सभा सम्पन्न गर्दै छ, यसले समग्र यातायात क्षेत्रलाई नै मर्यादित र व्यवस्थित बन्न प्रेरित गरेको छ ।