© 2026
कुनैपनि शिक्षा प्रणालीमा विद्यार्थी मूल्याङ्कन एउटा प्रमुख पक्ष रहेको हुन्छ । नेपाल सरकारले जारी गरेको १०० प्रतिवद्धतामा शैक्षिक सत्र २०८३ देखि कक्षा ५ सम्म औपचारिक परीक्षा नलिने र विद्यार्थी मूल्याङ्कनका लागि वैकल्पिक विधिहरू अवलम्बन गर्ने भनेको छ ।
यसको पुष्टि गर्दै विद्यार्थीमा कुनै प्रकारको मानसिक दवाव सिर्जना नगर्नाका लागि यस प्रकारको मूल्याङ्कन पद्धति आवश्यक रहेको बताइएको छ । यो अवधारणा सार्वजनिक भएपछि विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् ।
यसै सन्दर्भमा यहाँ नेपालसहित अमेरिका, बेलायत, क्यानाडा, फिनलैण्ड, जापान र भारतमा आधारभूत तह (कक्षा १–५ र यस लेखमा सजिलोका लागि पहिले भनिने गरेको प्राथमिक तह भनिएको) मा गरिने विद्यार्थी उपलब्धी मूल्याङ्कन पद्धतिको संक्षिप्त चर्चा गरिएको छ ।
१. अमेरिकामा एलिमेन्टरी तह (कक्षा १–५) को विद्यार्थी मूल्याङ्कन पद्धतिमा राज्यअनुसार फरकफरक ब्यवस्था भएको पाइन्छ । संघीय कानूनबाट शासित तर राज्यले निर्धारण गरेको ब्यवस्थाअनुसार शिक्षा पद्धति सञ्चालन र्भएको हुन्छ । सबै राज्य सरकारले एभ्री स्टुडेन्ट सक्सीड एक्ट (एसा) अनुसार वार्षिक स्तरीकृत परीक्षा सञ्चालन गर्नुपर्दछ ।
राज्यले तोकेका कक्षागत सिकाइ स्तर प्राप्त गर्नका लागि विद्यालयको जवाफदेहिता सुनिश्चित गर्न वार्षिक परीक्षा प्रणाली लागू गरिएको हो । अर्थात् यो परीक्षाले विद्यार्थीको सिकाइ उपलब्धी हासिल हुनेगरी शिक्षाण सिकाइ भएको सुनिश्चितता कायम गर्दछ । वार्षिक परीक्षामा राज्यअनुसार फरकफरक विषयहरूको परीक्षण गरिन्छ ।
उदाहरणका लागि म्यासाच्युसेट्स्मा कक्षा ४–८ मा अंग्रेजी भाषा, गणित र विज्ञान विषयको परीक्षण गरिन्छ भने इलिन्वाइसमा कक्षा ३–८ मा अंग्रेजी भाषा र गणितको परीक्षण गरिन्छ । यसका अतिरिक्त विषय शिक्षक वा विद्यालयले वर्षैभरी परीक्षण गर्छन् र नतीजा अभिभावकलाई तुरून्तै पठाउँछन् ।
यी परीक्षणहरू विद्यार्थी सिकाइस्तर पत्ता लगाउने र सिकाइ सुधारका लागि आधारका रूपमा प्रयोग गर्दछन्। यस लेखकले नर्थ क्यारोलाइना राज्यको कक्षा शिक्षण अवलोकन गर्ने अवसर पाएको थियो । त्यहाँ कक्षा ३–५ मा उतीर्ण नम्बर ७० रहेको छ । विद्यार्थीहरूलाई दिइने कार्यहरू स्तरीय नहुँदासम्म पुनःलेखन गरी बुझाउन लगाइने रहेछ । अर्थात् सिकाइ उपलब्धी स्तर सुनिश्चित गर्ने गरी शिक्षण कार्य गरिन्छ । अमेरिकामा कक्षा ४–८ मा शैक्षिक उपलब्धीको स्तरिकृत परीक्षण गरिन्छ । यसले राज्यको शिक्षा अवस्थाको जानकारी दिने नीति निर्माणमा सहयोग गर्दछ ।
२. बेलायतमा राष्ट्रिय मूल्याङ्कन प्रणाली लागू छ तथापि स्कटल्याण्ड, आयरल्याण्ड र वेल्स्का केही फरक अभ्यासहरू छन् । बेलायतमा उमेर समूहअनुसार रिसेप्शन, फोनिक्स्, स्याट जस्ता परीक्षण गरिन्छ । स्तरीकृत परीक्षणको अभ्यास छ । विशेषगरी पठन साक्षरता र आधारभूत गणितीय सिप विकासमा जोड दिइन्छ । यहाँ निश्चित प्राप्ताङ्कलाई अपेक्षित स्तर मानिएको हुन्छ । उदाहरणका लागि फोनिक्स्मा १०० वा माथिलाई अपेक्षित स्तर प्राप्त र १०० भन्दा कम प्राप्ताङ्कलाई अपेक्षित स्तरभन्दा कम मानिन्छ भने स्याटमा १२० अधिकतम र ८० न्यूनतम अङ्क मानिन्छ ।
लेखन र विज्ञानजस्ता विषयहरूमा परीक्षा हुदैन तर विद्यार्थीको वर्षैभरीको कार्यको निर्णय शिक्षकले गर्नुपर्छ । स्याटको नतीजा राष्ट्रिय कार्य तालिकामा समावेश हुन्छ । यो तालिकाका आधारमा विद्यालयको कार्र्यक्षमताको तुलनात्मक अध्ययन गरिन्छ ।
३. क्यानाडामा शिक्षा प्रदेशअन्तर्गत हुने भएकोले प्रदेश अनुसारका प्रणाली लागू छन् र कुनै राष्ट्रिय प्रणाली छैन । विभिन्न प्रकारका परीक्षणमध्ये शिक्षकले गर्ने कक्षाकोठा परीक्षण गरिन्छ । ब्रिटिश कोलम्बीयामा कक्षा ४ र ७ मा साक्षरता र गणितीय सिपसम्बन्धी आधारभूत सिप परीक्षण गन्छि भने अल्बर्टामा कक्षा ६ र ९ मा भाषा कला, गणित, विज्ञान र सामाजिक अध्ययन विषयको प्रादेशिक उपलब्धी परीक्षा सञ्चालन गरिन्छ ।
त्यसैगरी ओन्टारियोमा कक्षा ३ र ६ मा प्रादेशिकस्तरको परीक्षा पद्धति लागू गरिएको छ । शिक्षकले नियमित कक्षामा विद्यार्थीका कार्यक्षमता अवलोकन, गुहकार्य र परीक्षाको माध्यमबाट विद्यार्थीको क्षमता पहिचान गर्दछन् । क्यानाडामा मुख्यगरेर स्तर र प्रतिशतमा नतिजा दिने चलन छ । किन्डरगार्टेनदेखि कक्षा २ सम्म साक्षरता परीक्षण गरिन्छ तर यसको स्तरीकरण गरिदैन ।
४. फिनलैण्ड विश्वमै उत्कृष्ट शिक्षा भएको देश मानिन्छ । यहाँको मूल्याङ्कन प्रणाली पनि विशेष खालको मानिन्छ किनभने यहाँ कुनै प्रकारको राष्ट्रिय स्तरिकृत परीक्षा छैन । सम्पूर्ण परीक्षण शिक्षकनिर्भर, दण्डरहित र सहयोगात्मक ब्यवहारमा आधारित छ । सिकाइका लागि मूल्याङ्कनमा आधारित सुधारात्मक मूल्याङ्कन, स्व–मूल्याङ्कन, सहपाठी मूल्याङ्कन र शिक्षक अवलोकनजस्ता विधि प्रयोग गरिन्छ ।
निर्णयात्मक मूल्याङ्कनका रूपमा गणितीय तथा भाषिक सिपमा मूल्याङ्कन गरी ४–१० स्तरमा निणृय दिइन्छ । राष्ट्रिय स्तर मापनका लागि ५–१० प्रतिशत विद्यार्थीहरू छनोट गरी परीक्षणमा समावेश गरिन्छ । फिनल्याण्डमा परीक्षण सिकाइ सुधारका लागि गरिन्छ । त्यहाँ विद्यालयहरूका वीच सिकाइ उपलब्धीको प्रतिस्पर्धा हुदैन । फिनल्याण्डभित्र जहाँ अध्ययन गरे पनि एउटै स्तर मानिन्छ ।
५.चीनमा नैतिकता, बौद्धिकता, शारीरिक, सौन्दर्य तथा श्रम शिक्षा गरी पाँच प्रमुख क्षेत्रहरूको विकास गरी पूर्ण मानवका रूपमा विकास भएको मूल्याङ्कन गरिन्छ । यसका साथै परीक्षाको तनाव दिइदैन । कक्षा १ र २ मा लिखित परीक्षा हुदैन ।
तल्ला कक्षाहरूमा हेप्पी इक्जाम्स् अवधारणाअनुसार साहसिक परियोजना कार्यहरू दिइन्छ । परीक्षणलाई सिकाइ प्रक्रियासँग जोड्ने र विद्युतीय प्रोफाइल तयार गरिन्छ । कक्षाकार्यका अतिरिक्त कक्षा ४ र ८ मा राष्ट्रिय मानकका आधारमा शिक्षाका पाँच क्षेत्रहरूको उपलब्धी परीक्षण गरिन्छ ।मुख्य गरेर होल चाइल्डको अवधारणाबाट शिक्षण र परीक्षण निर्देशित छ ।
६. जापानमा तोकिएका सिकाइ उपलब्धी हासिल गर्न सबै विद्यार्थीलाई सक्षम बनाइन्छ । हाइ स्कूल तहको परीक्षा प्रणालीमा सक्षम हुनका लागि आवश्यक ठोस सिप विकास गरिन्छ ।
कुनै युनिट वा सेमेस्टरको सिकाइ उपलब्धी यकिन गर्न शिक्षक निर्मित परीक्षा सञ्चालन गरिन्छ भने कक्षा ६ मा राष्ट्रिय स्तरको परीषा सञ्चालन गरिन्छ । यो परीक्षा विद्यार्थी पास वा फेल गर्ने भन्दा राष्ट्रिय अवस्था पहिचानका लागि गरिन्छ । विद्यार्थी परीक्षणमा धेरै राम्रो, राम्रो र प्रयाश गर्नुपर्ने गरी तीन स्तरमा स्तरीकृत गरिन्छ ।
७. भारतमा राष्ट्रिय शिक्षा नीति २०२० लागू गरिएपछि होलिस्टिक प्रोग्रेस कार्डको अवधारणा ल्याइएको छ ।
यसअनुसार विषयवस्तु ज्ञानका साथै संज्ञानात्मक, संवेगात्मक, सिर्जनात्मक, सामाजिक क्षेत्रको विकासको परीक्षण सुरू गरिएको छ । भारतमा निर्माणात्मक र निर्णयात्मक दुवै परीक्षणको अभ्यास भैरहेको छ । तल्ला कक्षाहरूमा वैकल्पिक परीक्षण तरिकाहरू अवलम्बन गरिएका छन् । राष्ट्रियस्तरको उपलब्धी सर्भेक्षण गर्ने गरिन्छ ।
८. नेपालमा कक्षा १–३ पूर्णरूपमा शिक्षकको आन्तरिक मूल्याङ्कन र कक्षा ४–८ मा ५० प्रतिशत बाह्य र ५० प्रतिशत आन्तरिक मूल्याङ्कन गर्ने ब्यवस्था पाठ्यक्रमहरूमा छ । कक्षा सहभागिता, विद्यार्थीका सिकाइ ब्यवहारलाई अभिलेखीकरण गर्ने भनिएको छ । कक्षा ४ देखि परियोजना कार्य, सहभागिता, उपस्थितिजस्ता पक्षमा अङ्क विभाजन गरिएको छ । ब्यवहारमा भने पाठ्यक्रम कार्यान्वयनको छ वर्ष बितिसक्दा पनि लिखित परीक्षा नियमित रूपमा भैरहेको छ । कक्षा १–३ को पोर्टफोलियो शैक्षिक सत्रको अन्त्यमा हतारहतार भर्ने चलन छ ।
कक्षा ४ देखि परियोजना कार्यका रूपमा २–३ पानाको गृहकार्य दिने चलन देखिन्छ । अर्थात् विद्यमान एकिकृत पाठ्यक्रमले परीक्षा लिन नपाउने गरेको ब्यवस्थाको कार्यान्वयन भएको छैन । लिखित परीक्षामा कक्षा नर्सरी वा शिशुदेखि कै बालबालिकालाई बाध्य पारिएको छ । सरकारले आँफैले गरेको ब्यवस्थालाई कार्यान्वयन गर्न सकेको छैन । यसका साथै यसरी गरिएका शिक्षक केन्द्रित र प्रयोगात्मक मूल्याङ्कन पद्धति र उदार कक्षोन्नतिले सिकाइमा नकारात्मक असर परेको आम शिक्षकहरूको मत रहेको पाइन्छ ।
संसारका विकसित देशहरूको अभ्यास हेर्दा पनि अमेरिकामा वार्षिक परीक्षा प्रणाली लागू भैरहेको भए तापनि अन्य अधिकांश देशहरूमा कक्षा १–५ को सन्दर्भमा लिखित परीक्षा नरूचाइएको पाइयो ।
साक्षरता सिप (साधारण लेखपढ र गणितीय सिप)को विकास, बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक, सिर्जनात्मक सिपहरूको विकास, पढाइप्रति झुकाव, श्रमप्रति झुकाव, खूशी सिकाइ सिप विकास जस्ता पक्षमा जोड दिंदै होल चाइल्डको विकास गर्ने र त्यसैको लेखाजोख ागर्ने, शिक्षकले कक्षाशिक्षणकै क्रममा विद्यार्थीका ब्यवहार र क्षमताको लेखाजोखा गरी सुधारात्मक शिक्षण गर्ने जस्ता अवधारणा मूल्याङ्कनका सन्दर्भमा गाँसिएको पाइयो ।
तसर्थ नेपालमा पनि कक्षा ५ सम्म लिखित परीक्षा बन्द गर्ने र वैकल्पिक मूल्याङ्कन विधि अपनाउने योजनालाई साकार पार्नुपर्ने देखिन्छ । विद्यार्थीमा नैतिक आचरण, शारीििरक, सामाजिक र संवेगात्मक स्वास्थ्य वानीको विकास, सहकार्य, सिकाइ मोह, श्रमप्रति सम्मान गर्ने, सकारात्मक तथा सुखी रहने, साधारण लेखाइ, पढाइ, गणितीय सिप विकास गरी संज्ञानात्मक, संवेगात्मक र नवीनतम सिर्जनात्मक सिप विकासमा जोड दिने पाठ्यक्रम र ती सिपको परीक्षण गर्ने मूल्याङ्कन विधिका रूपमा परियोजना कार्य, कक्षा कार्यक्षमता प्रदर्शनको अवलोकन र अभिलेख, साहसिक तथा सिर्जनात्मक कार्यमा लगाउने, चित्र, कला, संगित, नृत्य, योग जस्ता बहुआयामिक क्षेत्रमा अभ्यास र क्षमता पहिचान र पोर्टफोलियो निर्माण गर्ने जस्ता वैकल्पिक मूल्याङ्कन साधन प्रयोग गर्नुपर्दछ ।
यी कार्यका लागि सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि एउटै नियम र विधि कार्यान्वयन गर्नुपर्दछ । सामुदायिक विद्यालयमा वैकल्पिक विधिहरू र संस्थागत विद्यालयमा परम्परागत परीक्षा प्रणाली लागू भैरह्यो भने नेपाली अभिभावकहरूको ध्यान परीक्षा र मार्क शीटतिर केन्द्रित छ ।
विद्यालय रूपान्तरणमा अभिभावकलाई पनि सँगसँगै लैजानु आवश्यक छ । विद्यालयमा निरन्तर सुधारात्मक वैकल्पिक मूल्याङ्कन सुनिश्चित गर्न अनुगमनको आवश्यकता छ । कक्षा ५ को अन्त्यमा कम्तीमा प्रदेश स्तरको स्तरीय परीक्षा गरी सिकाइस्तर पहिचान गर्ने र त्यसै अनुसारका सिकाई नीति एवम् कार्यक्रम बनाउने गर्नु आवश्यक छ ।
अन्य मुलुकमा नतिजाबाट सरकारले पनि शिक्षा लिने र आवश्यक नीति एवम् कार्यक्रम बनाउने गरेको पाइन्छ । नेपालमा नतिजापछि राज्यको शिक्षा क्षेत्रमा लगानी बढाउने वा शिक्षक शिक्षा वा सामग्री ब्यवस्था वा भौतिक पूर्वाधार विकास वा अन्य नवीनतम अभ्यास गरेको पाइदैन । तसर्थ नतिजा शिक्षक र विद्यालयको हुर्मत लिने आधार मात्र नभएर राज्यको कार्यक्रममा प्राथमिकतामा पर्नुपर्ने क्षेत्रको पहिचान गर्ने आधार कसरी बनाउन सकिन्छ भन्ने तर्फ पनि ध्यान जानु आवश्यक छ ।