© 2026
भैरहवा ।
भैरहवामा लागू औषध दुरुपयोग तथा एचआइभी रोकथाम सम्बन्धी सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ । बैठकमा समस्या, असर र समाधानका उपायबारे छलफल गरिएको हो ।
आस्था समूह, रुपन्देहीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा लागू औषध दुरुपयोग, यसले निम्त्याउने सामाजिक, आर्थिक, पारिवारिक साथै सामाजिक असर र यसको न्यूनीकरणका लागि आस्था समूहले प्रदान गरिरहेको सेवाका बारेमा संस्थाका खेमराज हितानले प्रस्तुतीकरण गरेका थिए ।
सहभागीबाट उठेका जिज्ञासाका बारेमा जानकारी दिँदै संस्थाका कार्यक्रम अधिकृत गोपाल बन्जाडेले समाजमा लागू औषध प्रयोगकर्ता र एचआइभी सङ्क्रमितलाई समाजले हेर्नै दृष्टिकोण अझै पनि पुरानै रहेकाले सामुदायिक सचेतकरणको आवश्यकता रहेको बताए । उनले एचआइभीबाट सङ्क्रमित वा प्रभावित बालबालिकालाई सरकारले दिएको सामाजिक सुरक्षा भत्ता न्यून रहेकोले उनीहरूको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताए ।
सिद्धार्थनगरका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद ज्ञवालीले नगरमा भएका एचआइभीबाट सङ्क्रमित वा प्रभावित बालबालिका, सेवार्थीहरुलाई सेवा प्रवाहका लागि आवश्यक सामग्रीहरू समयमानै स्थानीय निकायमा माग गरेमा बजेटमा पर्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन सबै सरोकारवालाहरूलाई अनुरोध गरे ।
लागू औषध दुरुपयोग तथा एचआइभी एड्स रोकथाम ,सामुदायिक सचेतीकरण, लागू औषध प्रयोगकर्ता र एचआइभी सङ्क्रमितको स्वास्थ्य र मानव अधिकारको बारेमा पैरवी गर्दै आएको आस्था समूहले विगत १८ वर्षदेखि रुपन्देहीमा काम गरिरहेको छ । त्यस्तै, हाल लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरि ६ जिल्लामा काम गरिरहेको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सिद्धार्थनगर नगरपालिका, टेवा समूह, साकार समूह, आशाज्योती सहयोग समूह, युएनएफएल लगायतका संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।